म्याग्दी, ३ कात्तिक । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीका उम्मेदवारले विकास र समृद्धि नै प्रमुख एजेण्डा लिएर घरदैलोमा पुगेका छन् । घरदैलोको क्रममा मत माग्ने क्रममा उम्मेद्वारले आगामी निर्वाचनमा विकास र समृद्धिलाई प्रमुख एजेण्डा लिएका छन् ।
दल तथा स्वतन्त्र उम्मेदवारहरुले पुर्वाधार, शिक्षा, स्वास्थ्य तथा शुसासनको मुद्धा लिएर गाउँ पसेका छन् । जिल्लाका राजनीतिक दलले ग्राम उद्योग र रोजगारी लगायतका विगतका चुनावी बाचा कार्यान्वयन नगरेको हुदाँ घोषणापत्र भन्दा कार्यान्वयन गर्ने योजना लिएर आउन मतदाताले उम्मेदवारलाई माग राखेका छन् ।

आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरु साझा उम्मेदवारलाई विजय बनाउन एकसाथ घरदैलोमा निस्किएका छन्। गठबन्धन दलका जिल्लास्तरीय नेताहरू उम्मेदवार सहित वडास्तरमा घरदैलो, मतदाता भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन् । गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा (खम्बिर) प्रदेशसभा क्षेत्र नं. १ का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता हरि भण्डारी सहितको टोली उत्तरी म्याग्दीको वडास्तरीय भेला, घरदैलो र भेटघाटमा छन् भने प्रदेशसभा क्षेत्र नं २ का उम्मेदवार सुविन जुग्जाली, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि श्रीप्रसाद रोका, प्रदेशसभा क्षेत्र ख का सभापति टंकप्रसाद पुन, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुन लगायतका नेताहरू चुनावी अभियानमा धवलागिरी गाउँपालिका– १ गूर्जा पुगेका छन्।
सभासम्मेलन, माईकिङ लगायतका प्रचारप्रसारलाई निर्वाचन आयोगले कडाई गरेपछि गठबन्धनका उम्मेदवाररु समृद्ध म्याग्दी बनाउने ५ बर्षे प्रतिबद्धता सहित वडास्तरको रणनीति बनाउने, मतदातालाई भेट्ने र मतदाताको घर–घरदैलोमा जाने कार्यक्रम सुरु भएको गठबन्धनको संयुक्त चुनावी प्रचारप्रसार समितिका संयोजक एवम् नेपाली कांग्रेसका उपसभापति केबी भण्डारीले बताए ।
‘मतदातालाई अवको पाँचबर्षमा गर्ने काम सहित उम्मेदवार घरदैलोमा पुग्नुहुने छ,‘मतदाताबाट सुझाव लिएर फर्किनुहुन्छ, त्यहीलाई हामीले ५ बर्षे प्रतिबद्धतापत्र बनाएर कार्यान्वयन गर्नेछौ’ संयोजक भण्डारीले भने । उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकाहरू नेता तथा कार्यकर्तासँगै घरदैलोमा पुग्ने कार्यक्रमपछि आमसभा सहितका अन्य कार्यक्रमहरु निर्वाचन आयोगले दिएको समयभित्र गर्ने बताए। उम्मेदवार सहितको टोली घरदैलोमा पुग्न थालेपछि चुनावी रौनकता सुरू भएको छ ।
गठबन्धनका दलहरुले वडा, बस्तीसम्मको कार्यविभाजन गरी चुनावी गतिविधिलाई तिब्रता दिएको बताइएको छ । घरदैलो अभियानमा ब्यस्त गठबन्धनका साझा उम्मेदवार प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले जनताका निकै उत्साह देखेको बताए ।
गठबन्धनका उम्मेदवारले आफ्नो प्रतिबद्धता र गठबन्धन गर्नुको प्रमुख कारणका बारेमा मतदातालाई भेटेर नै प्रष्ट पार्ने गरी घरदैलोमा पुगेको प्रदेशसभा क्षेत्र नं १ का उम्मेदवार हरि भण्डारीले बताए । त्यस्तै प्रदेश ख का उम्मेदवार रेशम जुग्जालील गुर्जा पुगेर गुर्जाबासीलाई ग सडक सञ्जालमा जोड्न प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् ।




