म्याग्दी, २९ असोज । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबारदेखि म्याग्दीको बेनीमा तेक्वान्दो खेल शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ् । सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए)का ३३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
समितिका प्रशिक्षक कर्ण प्रधानले पुम्सेका ६ र गेरोगीका १६ गरि २२ वटा इभेन्ट्सका खेल हुने जानकारी दिनुभयो । स्वर्ण र कास्य २२÷२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ् ।
बेनीको कालीपुल स्थित कवर्डहलमा शुक्रबार साँझ पुम्से एकलको महिला र पुरुषको खेल खेलाइएको थियो । उद्घाटन खेलको महिला, पुरुष सिंगल पुम्सेको उपाधी नेपाल पुलिस क्लवले जितेको राष्ट्रिय खेलकुद परिषद्का प्रमुख तेक्वान्दो प्रशिक्षक नविन श्रेष्ठले बताउनुभयो ।
महिलातर्फ ७.१९९ अंक सहित नेपाल प्रहरीकी निशा दर्नाल विजयी हुदाँ उपविजेता भएकी नेपाली सेनाकी स्वतिका तामाङले ७.१४९ अंक जोडेकी थिईन् । तेस्रो बनेका प्रदेश १ की शुशिला राईले ६.८६६ र गण्डकीकी अर्पणा अधिकारीले ६.४६६ अंक पाइन् ।
पुरुषतर्फ प्रहरीका कमल श्रेष्ठ ७.५३३ अंक सहित बिजयी हुँदा लुम्बीनीका युवराज रानाले ७.१४९ अंक सहित उपबिजेता बन्नुभयो । ६.८६६ अंक सहित गण्डकीका आयुष गुरुङ र ६.६९९ अंक सहित प्रदेश १ का विवेक राई तेस्रो भए ।
पुम्से र गिरोगीतर्फका बाँकी खेल शनिबार हुने राखेपका प्रमुख प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।




