नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलमा गण्डकी प्रदेश विजयी सुरुवात
काेराेला पोस्ट २७ आश्विन २०७९, बिहिबार

म्याग्दी, २७ असोज । नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिवल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई सोझो ३– ० सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

दर्शकको भिड रहेको प्रतियोगितामा गण्डकीले सुदुरपश्चिम प्रदेश माथि २५–१८, २५–०८, २५– २२ को जित निकालेको थिए । गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय महिला भलिवल टिमकी कप्तान अरुणा शाहीले गरेकी थिईन । भने सुदुरपश्चिम प्रदेशको कप्तानी बलारती जोशीले गरेकी थिईन ।

महिला भलिबलमा सात प्रदेशसहित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका खेलाडीहरू सहभागि छन् । शुक्रबार महिला भलिबल अन्तरगत तीन खेल हुदै छन् । असोज २८ गते बिहान ८ बजे समुह १ को शसस्त्र प्रहरी र कर्णाली प्रदेश, १० बजे समुह २ को बाग्मती र प्रदेश १ र २ बजे तेस्रो समूहको नेपाल पुलिस क्लव र लुम्बिनी बिच हुने भएको छ ।

महिला भलिबल र तेक्वान्दोको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरेका थिए । खेलाडीको स्वागतमा बेनी बजारमा बाजागाजा, झाँकी सहितको ¥याली निकालिएको थियो ।