म्याग्दी, २६ भदौ । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको मगरदाङमा केन्द्रिय प्रशारण लाईनको विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मगरदाङका चार सय १५ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको हो ।
प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्राविधिक प्रमुख शिवराज पौडेलले दुई सय केभिए क्षमताको ट्रान्सफर्मरमार्फत मगरदाङमा विद्युतीकरण गरिएको जानकारी गराए । “मुख्य, शाखा लाइन, ट्रान्सफर्मरलगायतका संरचना निर्माण तथा जडान गरेर भदौ २५ गतेदेखि विद्युत् सेवा वितरण थालिएको छ”, उनले भने, “मगरदाङमा विद्युत् विस्तार गर्न संघीय सरकारको करिब रु दुई करोड ५० लाख लगानी भएको छ ।”
मगरदाङका बासिन्दा रातिका समयमा उज्यालोका लागि लघु जलविद्युत्मा निर्भर रहेका थिए । विसं २०७७ मा दाङखोलामा आएको बाढीले २५ किलोवाट क्षमताको मगरदाङ डाँडागाउँ–आशाटोल लघुजलविद्युत् परियोजनाको विद्युत्गृह, नहर र जेनेरेटरमा क्षति पु¥याएपछि त्यस क्षेत्रका स्थानीय विद्युत् सेवाबाट वञ्चित रहनुपरेको थियो ।
मालिका गाउँपालिका–५ का वडाध्यक्ष मीम पुनले केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवासुविधा विस्तार भएपछि दैनिक घरायसी काम, विद्यार्थीलाई पठनपाठन गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको बताए । विद्युत् सेवा विस्तारसँगै फर्निचर, पाउरोटी उद्योग, विद्यालयमा कम्प्युटर विषयको पठनपाठन, वडा र अन्य कार्यालयको प्रशासनिक काम सहज भएको छ ।
केन्द्रका प्रमुख प्रशान्त झाले गत आर्थिक वर्षमा थप ११ किलोमिटर ११ केभी र चार सय÷दुई सय भोल्टेजको ९५ किलोमिटर शाखा लाइन विस्तार भएको बताए । घरथोक, पन्थोक, जुग्जा र छुटेका बस्तीमा चालु आर्थिक वर्षभित्रमा विद्युत् सेवा विस्तार गर्ने तयारी भएको छ ।
चालु आर्थिक वर्षमा मालिकाको रुम, स्याउलुङ, औल, रघुगङ्गाको पात्लेखर्क, धवलागिरिको मराङ, अन्नपूर्णको दोवामा छुटेका बस्तीमा लाइन विस्तार र विद्युत् आपूर्ति सुधार गर्न नयाँ ट्रान्सफर्मर राख्ने योजना छ ।




