म्याग्दी, २० भदौ । ५० वेड क्षमतामा स्तरोन्नती सहित निर्माणधिन बेनी अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी र सरोकारवालालाई दबाब दिन निर्माण व्यवसायीको खोजी गर्न दबाब मुलक विरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघ म्याग्दीले अस्पतालको भवन अलपत्र पार्ने निर्माण व्यवसायी हराएको सूचना सहितको तस्विरलाई सार्वजनिक स्थानमा टाँसेर विरोध पदर्शन गरेका हुन् ।

आइतवार साँझ निर्माणधिन अस्पताल भवन परिसरमा अनेरास्ववियु र युवा संघका नेता तथा कार्यकर्ताहरुले भवनको ठेक्का लिएका महादेव खिम्ती गल्वा रफिना जेभीका सञ्चालक समेत रहनुभएका नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवीसिंह श्रेष्ठ हराएको भन्दै तस्विर सहितको सूचना टाँसेर विरोध जनाएका छन्।

लाइट बालेर खोजी गर्दै निर्माण व्यवसायीको तस्विर टाँस गरेपछि आयोजित कोण सभामा बोल्दै अनेरास्ववियुका गण्डकी प्रदेश समितिका अध्यक्ष प्रकाश पौडेलले राजनीतिक दल र सत्ताको ओत लागेर अस्पताल भवनलाई अलपत्र पार्ने निर्माण कम्पनीलाई तत्काल निर्माण कार्यलाई अघि बढाउन आग्रह गरे। उनले पटक पटक थप भएको समयमा समेत निर्माण व्यवसायीले भवन निर्माणमा तदारुकता नदेखाएको र निर्माण कम्पनीलाई काम गरेभन्दा बढी भुक्तानी दिएको सार्वजनिक भएको भन्दै यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यानकर्षण हुनुपर्ने बताए ।
अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्ष पौडेल, केन्द्रीय सचिबालय सदस्य सुवास विक, युवा संघका जिल्ला अध्यक्ष शिशिर शाही लगायतको नेतृत्वमा गएका युवा तथा विद्यार्थी नेताहरुले भित्ता र विजुलीको पोलमा निर्माण व्यवसायि श्रेष्ठको तस्विर र सम्पर्क नम्बर समेत उल्लेख गरी निर्माण व्यवसायी हराएको सूचना टाँस गरेका छन् । तत्कालिन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसंग २०७३ पुस २१ मा महादेव खिम्ती, गल्वा रफिना जेभीले रु १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । २०७६ मंसिर २० गते भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि योजना अलपत्र परेपछि अहिले चौतर्फि आलोचना र गुनासो बढेको छ ।
निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको करित तीन बर्ष पुग्न लाग्दा बेनी अस्पतालको भवन निर्माण योजनाका काम करिब ५० प्रतिशत मात्रै सकिएको छ । निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरबाहीको कारण बेनी अस्पतालको निर्माणधिन भवन ढिलासुस्तीको नमुना बनेको छ । जिल्ला प्रशासन कार्यालयले आयोजना कार्यान्वयन गर्ने सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङलाई अस्पताल भवन निर्माणमा ढिलासुस्ती भएको भन्दै निर्माण कम्पनीलाई कार्यक्षेत्रमा परिचालन गराउन लिखित पत्राचार नै गरिसकेको छ भने कार्यालयले समेत निरन्तर ताकेता गर्दा समेत निर्माण कम्पनीले निर्माण कार्यलाई गति नदिएको जनाएको छ । बेनी अस्पतालले अहिले भवन अभाबमा अस्थायी संरचनाहरुबाट स्वास्थ्य उपचार सेवा दिँदै आएको छ । समयमै भवन नबन्दा स्वास्थ्य सम्वन्धी सबै सेवाहरु गुणस्तरीय रुपमा सेवाग्राहीलाई दिन नसकेको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए ।




