कांग्रेसको पालिकास्तरमा कार्यकर्ता प्रशिक्षण सुरु
काेराेला पोस्ट २ भदौ २०७९, बिहिबार

म्याग्दी २ भदौ । नेपाली कांग्रेस म्याग्दीले पालिकास्तरीय कार्यकता भेटघाट, अन्तक्रिया तथा प्रशिक्षण सुरु गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन लक्षित गरेर नेपाली कांग्रेसको पहिलो चरणको पालिका स्तरीय अभियान सुरु गरेको हो ।

अभियान अन्तरगत बुधबार रघुगंगा गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । जिल्लाका सबै स्थानीय तहमा एक साताभित्र पालिकास्तरीय कार्यकता भेला, संगठन सुदृढीकरण, भातृसंस्था र शुभेच्छुक संस्थाको तयारी सहित रणनीति निर्माण लगायतमा केन्द्रित रहेर अभियानलाई तिब्रता दिइएको जिल्ला कार्य समिति म्याग्दीका सचिव भरतबहादुर रकालले जानकारी दिए । रघुगंगा गाउँपालिका सभापति मनकुमार शेरपुजाको अध्याक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेलाई बिजयी गराउने अभियानमा केन्द्रीत हुन आग्रह गर्नुभयो ।

निर्वाचनमा पालिकास्तरीय, वडास्तरीय र गाउँ टोलस्तरीय चुनावी अभियानको तयारीमा जुट्न निर्देशन दिनुभएको हो । कार्यक्रममा पूर्व सभापति रेशमबहादुर बानियाँ, उपसभापति हरिकुमार श्रेष्ठ, केबी भण्डारी, सचिव रकाल, जिल्ला सदस्य एवम् दरुण दलका अध्यक्ष मुकुन्द छन्त्याल, पूर्व सह–सभापती नेत्रबहादुर महत, पूर्व सचिव क्या मिनबहादुर कार्की लगायतका नेताहरुले समेत चुनाबकेन्द्रित अभियानमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको थियो भने पालिका समितिका सचिब सिता खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

जिल्लाका सबै पालिकास्तरीय भेलापछि थप योजना बनाएर वडा, बस्ती र टोलस्तरसम्म जाने कांग्रेसले जनाएको छ । २०७९ साल मंसिर ४ गते आईतबारका दिन एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुदैछ ।