म्याग्दी, १२ साउन । हरेक स्थानीय तहमा कृषि क्षेत्रमा विनियोजन भएको बजेटबाट तालिम र प्रविधि हस्तान्तरण संगै फलफुलका विरुवा समेत वितरण हुँदै आएका छन् । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा आर्थिक बर्ष २०७८÷०७९ मा सुन्तला, कागती, टिमुर, ओखर, किवी, आँप, लिची लगायतका ५० हजार बढी फलफुलका विरुवा वितरण भएका छन् । एक बर्षमा स्थानीय तहहरुले कुल ५१ हजार ५१५ वटा फलफुलका विरुवा वितरण गरेका छन् ।
बेनी नगरपालिकाले १४ हजार १९५, रघुगंगा गाउँपालिकाले १२ हजार ७१७, मंगला गाउँपालिकाले ११ हजार ३१०, मालिका गाउँपालिकाले ६ हजार ६९३, अन्नपूर्ण गाउँपालिकाले ६ हजार ६ सय र धवलागिरि गाउँपालिकाले ३ हजार फलफुलका विरुवा वितरण गरेका छन् । जिल्लाका सबै स्थानीय तहले पचासदेखि ७५ प्रतिशत अनुदानमा फलफुलका विरुवा वितरण गर्दा सुन्तला र कागतीका विरुवा खरिदमा मालिका र बेनी नगरपालिकाले धेरै मूल्य र रघुगंगाले सबैभन्दा कम मुल्यमा खरिद गरेका छन् ।
मालिकाले सुन्तलाको विरुवा प्रतिबोट ५० र कागतीलाई ४० रुपैयाँ मूल्यमा खरिद गर्दा, बेनी नगरपालिकाले रु ३३ र रघुगंगा गाउँपालिकाले सबैभन्दा कम प्रतिगोटा रु १९ रुपैयाँ पचास पैसामा विरुवा खदिर गरेको भेटिएको छ । एउटै फर्मबाट कुनै पालिकामा सस्तो र कुनैमा महंगोमा विरुवा खरिद गर्दा आफुहरु समेत समस्यामा परेको कृर्षकहरुको भनाई छ ।
बेनी नगरपालिकाबाट अनुदानमा विरुवा लगाउनुभएका बेनी नगरपालिका–९ का लोकेन्द्र खड्काले पालिकाको खरिद मुल्य बढ्दा किसानले समेत बढी मुल्य तिर्नुपरेको बताउनुभयो । ‘‘ एउटै विरुवामा रघुगंगाका कृषकले कम मुल्य र बेनी नगरपालिकाका कृषकले बढी मुल्य तिर्नुपर्यो, विरुवाको गुणस्तर र मुल्यमा एकरुपता ल्याइदिए कृषकहरु मर्कामा पर्ने थिएनन् ।’’ बेनी नगरपालिका–९ को रामकृष्ण कृषि पशुपंक्षी तथा फलफुल नर्सरी फर्मले सुन्तलाका विरुवा बेनी नगरपालिकामा ३३ रुपैयाँमा उपलब्ध गराएको छ भने रघुगंगा गाउँपालिकामा १९.५० पैसामा उपलब्ध गराएको छ ।




