१९ किलोमिटर सडक कालोपत्रे
काेराेला पोस्ट १ श्रावण २०७९, आइतबार

म्याग्दी, १ साउन । म्याग्दीमा एक वर्षको अवधिमा १९ किलोमिटर कालोपत्रे भएको छ । करिब दुई दशकमा करिब १७ किलोमिटर कालोपत्रे भएको म्याग्दीमा एकैबर्षमा १९ किमी कालोपत्रे थपिएको छ । चालु आर्थिक वर्षमा बेनी जोमसोम कोरला सडक आयोजना, पूर्वाधार विकास कार्यालय म्याग्दी र सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले गरेर जिल्ला भित्रका विभिन्न स्थानहरुमा १९ किलोमिटर छ सय ७० मिटर सडक कालोपत्र गरिएको हो ।

बेनी–जोमसोम कोरला सडक आयोजनाले गलेश्वर देखि रघुगंगा गाउँपालिका–१ बेगखोला सम्म विभिन्न स्थानमा गरी यसवर्ष ५ किलोमिटर सडक कालोपत्र गरेको छ । जिल्लामा राष्ट्रिय गौरवका आयोजनाहरूबाट मात्रै सडक कालोपत्रे धेरै भएको छ। बेनी–जोमसोम कोरला सडक आयोजना अन्तरगत विगत आधादशकदेखि सडकखण्डमा कालोपत्रे भइरहेको आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।

यसैगरी पूर्वाधार विकास कार्यालय म्याग्दीले जिल्ला भित्र सञ्चालित योजना मार्फत १३ किलोमिटर ८ सय ७० मिटर र सघन सहकारी विकास डिभिजन कार्यालय बागलुङ मार्फत एककिलो मिटर आठसय मिटर सडक कालोपत्र गरिएको छ ।बेनी –बागलुङ सडक अन्तर्गत बेनी नगरपालिका २ खबर देखि हाँडेभिर स्थित बेलीब्रीज पुलको मुखसम्म एक किलोमिटर दुईसय मिटर सडक कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले बताए ।

पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडक अन्तर्गत बेनी–तातोपानी–सिम सडकखण्डको १२ किलोमिटर पाँचसय ८५ मिटर दुरीको सडक कालोपत्र भएको छ । सघन सहरी विकास डिभिजन कार्यालय बागलुङ मार्फत ठेक्का लगाएर बेनी नगरपालिका–७ मंगलाघाट देखि बेनी नगरपालिका २ बगरफाँटको कोटखोला सम्म गरेर एक किलोमिटर आठसय मिटर सडक कालोपत्र भएको छ । यसैबीच बेनी नगरपालिकाले १.८ किलोमिटर विस्तार गरिएको छ भने २ किलोमिटर मर्मत गरिएको छ । विभिन्न स्थानमा भएको कालोपत्रेमा जनताले गुणस्तरमा प्रश्न गरिरहेको छन् ।