बेनी नगरपालिकाले ७३ करोड २२ लाख बजेट सार्वजनिक
काेराेला पोस्ट १० असार २०७९, शुक्रबार

बेनी, १० असार । बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि अनुमानित ७३ करोड २२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । जिसस सभाहलमा भएको ११औं नगर सभा तथा अधिवेशनमा नगर उपप्रमुख ज्योती लामिछानेले आगामी आर्थिक वर्षको प्रस्तुत बजेट पारित भएको छ ।

नगरसभामा प्रस्तुत विनियोजित बजेटमध्ये चालु खर्चतर्फ ४६ करोड १४ लाख र पुँजीगततर्फ २७ करोड आठ लाख रुपैयाँ रहेको छ । सभामा प्रस्तुत बजेटमध्ये सबैभन्दा धेरै सामाजिक विकासतर्फ ३८ करोड ४३ लाख ७५ हजार अर्थात् ५२ दशमलव ५० प्रतिशत बजेट विनियोजन भएको छ । पूर्वाधार विकासतर्फ २५ करोड १० लाख अर्थात् १७ दशमलव ३५ प्रतिशत, आर्थिक विकासतर्फ चार करोड १० लाख, सुशासन र संस्थागत विकासतर्फ एक करोड ३८ लाख रुपैयाँ विनियोजन भएको छ ।

यसैगरी वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ‘विपद्मा मेयर कार्यक्रम’ सञ्चालनसहित एक करोड पाँचलाख रुपैयाँ बजेट विनियोजन भएको उपप्रमुख लामिछानेले जानकारी दिनुभयो । प्रस्तुत बजेटमध्ये आर्थिक विकासअन्तर्गत कृषि क्षेत्रतर्फ दुई करोड नौलाख ४० हजार, पशुपन्छी विकासतर्फ ५६ लाख ६० हजार, उद्योगतर्फ ३५ लाख, पर्यटनमा ७४ लाख, जलस्रोत तथा सिँचाइतर्फ ३० लाख र सहकारी क्षेत्रतर्फ पाँचलाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

त्यस्तै सामाजिक विकासअन्तर्गत शिक्षातर्फ २७ करोड ९९ लाख, स्वास्थ्यतर्फ चार करोड ३८ लाख, युवा तथा खेलकुदतर्फ २१ लाख ५० हजार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमसहित ५७ लाख ५० हजार विनियोजन भएको छ ।

खानेपानी तथा सरसफाइतर्फ चार करोड ७३ लाख, विविधतर्फ एक करोड ३१ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । पूर्वाधार विकासअन्तर्गत सडक तथा पुल निर्माणतर्फ दश करोड ४५ लाख, भवन, आवास तथा सहरी विकासतर्फ चार करोड २९ लाख र उर्जा कार्यक्रमका लागि आठलाख रुपैयाँ बजेट विनियोजन भएको नगर उपप्रमुख लामिछानेले बताउनुभयो ।

यसअघि नगरसभामा नगर प्रमुख सुरत केसीले आगामी वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत नीति तथा कार्यक्रममा लगानीमैत्री वातावरण निर्माण गरिने, उत्पादन बढाउने तथा रोजगारीको सिर्जना गर्ने, मानव पुँजी निर्माण, असमानता तथा गरिबी न्युनीकरण गर्ने, दीगो विकास तथा पर्यावरणीय सन्तुलन कायम राख्ने र सङ्घीयताको मर्मअनुसार गुणस्तरीय सेवा प्रदान गरिने लगायतका विषयहरु उल्लेख गरिएको छ ।