दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान
काेराेला पोस्ट १६ जेष्ठ २०७९, सोमबार


म्याग्दी, १६ जेठ । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।

मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको छ ।

पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ट्विनअटर विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । सो विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनः सुरु गरिएको थियो । विमानमा १९ यात्रु र चालक दलसहित २२ जना सवार थिए ।