उम्मेदवारी दर्तासँगै घरदैलो अभियानमा
काेराेला पोस्ट १५ बैशाख २०७९, बिहिबार

म्याग्दी, १५ बैशाख । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गरेसँगै म्याग्दीमा नेकपा एमालेका उम्मेदवारको घरदैलो अभियान सुरु भएको छ । निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले घरदैलो अभियान थालेका हुन् ।

यसैक्रममा आज बुधवार म्याग्दी सदरमुकाम बेनीबजारमा बेनी नगरपालिकाको प्रमुख, उपप्रमुख तथा बेनपा–७ र ८ नम्बर वडाको विभिन्न पदमा एमालेबाट उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुले घरदैलो अभियान गरेका छन्। उनीहरुले घरदैलो अभियानमार्फत मतदातालाई प्रत्यक्ष रुपमा भेटघाट गरेर आफू र नेकपा एमालेको टिमलाई जिताउनका लागि भोट दिन अपिल गरेका हुन् ।

नगर प्रमुख पदका उम्मेदवार सुरत केसी, उपप्रमुख पदका उम्मेदवार पशुपति शाही, बेनपा–७ का वडाध्यक्षका उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ, ८ नम्बर वडाका वडाध्यक्ष पदका उम्मेदवारहरुको टोलीले घरदैलो गरी भोट मागेका छन् । उक्त टोलीले आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई अत्यधिक मत दिएर विजयी बनाउन समेत आग्रह गरेको जनाएको छ ।

बेनी नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुरत केसीले बेनी नगरपालिकालाई समृद्ध बनाउन र समाजमा रहेको जातीय, वर्गीय विभेदको अन्त्यसँगै शिक्षा र चेतनाको विकास गर्नका लागि आफू चुनाबी मैदानमा होमिएको बताउनुभयो । घरदैलो अभियान कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी, उपाध्यक्ष लिलाराम गौतमलगायत नेता तथा कार्यकर्ता सहभागी भएर थियो ।

बेनी नगरपालिका क्षेत्रमा कुल १० वटा वडा रहेका छन् । आसन्न निर्वाचनका लागि २१ हजार ८ सय ४२ मतदाता रहेको बेनीमा १७ वटा मतदानस्थल र २८ वटा मतदान केन्द्र रहेका छन् । जिल्लाको अन्य पालिकामा पनि एमालेका उम्मेदवारहरुले प्रचारप्रसारसँगै आफू र पार्टीलाई भोट मागेका छन् । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको हिमाली जिल्ला म्याग्दीमा एमालेसंगै, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायत पाटीका उम्मेदवारहरु घरदैलो र मतदाता सिकाउन लगि परेका छन् ।

आसन्न निर्वाचनका लागि जिल्लाभर कुल ८५ हजार ३ सय ७५ जना मतदाता कायम भएकोमा ४१ हजार ४ सय १४ पुरुष, ४३ हजार ९ सय ६० महिला र अन्यतर्फ एकजना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । जिल्लामा स्थानीय तहको निर्वाचनमा ६ सय १९ जना म्यादी प्रहरी छनोट गरिएको छ ।