म्याग्दी, २० चैत । आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा दलहरु उम्मेदवार छनौटमा जुटेका छन् । चुनावी प्रचारप्रसार गर्दै घरदैलोमा पुग्न थालेका दलहरुले वडा र पालिकामा आफ्नो पार्टीबाट उम्मेदवार बनाउने बिषयलाई समेत छलफलको प्राथमिकतामा राखेका छन् । दलहरुबिच चुनाबमा तालमेलको सम्भावना रहेपनि अहिलेसम्म ठोस खाका बनिसकेको छैन् ।
नेपाली काँग्रेसले एक महिने जागरण अभियान सञ्चालन गरेको छ । नेकपा एमाले र माओवादी केन्द्रले टोल कमिटी गठन र घरदैलो अभियान सञ्चालन गरेका छन् । राप्रपा र मंगोल नेशनल अर्गनाइजेशनले समेत उम्मेदवार छनौटको गृहकार्यमा जुटेका छन् । वडा र पालिकामा स्वतन्त्र उम्मेदवारहरु समेत खुल्न थालेका छन् ।
नेकपा माओवादी केन्द्रले जिल्लाको १० वटा वडामा वडा अध्यक्ष पदको उम्मेदवार टुंगो लगाईसकेको छ । नेकपा एमालेले बेनी नगरपालिकाको तीन वटा वडामा वडा अध्यक्षको टुंगो लगाएको छ भने काँग्रेसले आन्तरिक रुपमा उम्मेदवार चयनमा जुटेपनि औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको छैन । विस २०७४ सालको स्थानीय तहको चुनावमा आफूले जितेका ७ वटा वडालाई बचाउदै थप वडा र पालिका जित्ने लक्ष्य सहित चुनावी अभियान संग संगै उम्मेदवार छनौटलाई समेत तिब्र पारिएको माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले जानकारी दिनुभयो । जिल्ला संयोजक जुग्जाली मालिका गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छन् ।
नेकपा एमाले म्याग्दीका जिल्ला अध्यक्ष देवेन्द्र केसीले चुनाबी अभियान संगै आन्तरिक रुपमा वडा र पालिकाको उम्मेदवार चयनको प्रकृया समेत अघि बढेको जानकारी दिनुभयो । उम्मेदवार छनौटलाई मध्यनजर गर्दै चैत २५ गते भित्र उम्मेदवारहरुको सिफारिस गरिसक्न पालिका स्तरीय कमिटीलाई निर्देशन दिइएको बताउनुभयो । नेपाली काँग्रेसले समेत जागरण अभियान संगै उम्मेदवार चयनको प्रकृयालाई अघि बढाएको छ ।
काँग्रेस जिल्ला सभापति खमवीर गर्वुजाले वडा र पालिका कमिटीलाई उम्मेदवारहरुको नामावली सिफारिस गर्न भनिएको र छिटै नै उम्मेदवारहरुको टुंगो लाग्ने जानकारी दिनुभयो । त्यस्तै स्वतन्त्र उम्मेदवार घोषणा गरेका युवाहरु घोषणापत्र लिएर जनताको घरदैलोमा पुगेका छन् । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदानका लागि म्याग्दीमा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन् ।




