म्याग्दी, ६ चैत । एमाले म्याग्दीले निर्वाचन लक्षित कार्यक्रमलाई तिव्रता दिएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा एमाले नगर तथा पालिका कमिटिले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई तिव्रता दिएको हो ।शनिबार नेकपा एमाले बेनी नगर कमिटिले पार्टि कार्यालय हाँडेभिरमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज भूपेन्द्र बहादुर थापा, प्रदेश कमिटि सदस्य सन्तोष रावल, जिल्ला कमिटि उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरज केसीले प्रशिक्षण दिनुभएको थियो ।
उहाँहरुले राष्ट्रिय राजनीति तथा पार्टिले अवलम्वन गरेको नीति, माक्र्सवाद लेलिनवाद, जनताको वहुदलिय जनवाद, पार्टि संगठन र जनवर्गीय संगठनको अन्तरसम्वन्ध, स्थानीय निर्वाचन २०७९ को तयारी लगायतका बिषयमा नगरका अगुवा कार्यकर्तालाई प्रशिक्षण गराईएको नेकपा एमाले बेनी नगर कमिटि अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रिय सदस्य थापाले मेरो वडा म जिताउँछु अभियान लिएर गाउँगाउँमा जानका लागि नगरका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । थापाले स्थानीय तहको निर्वाचनमा जनभावनाका कार्यक्रमलाई एजेन्डाको रुपमा समेटेर बस्ती बस्तीमा पुग्नेगरि तयारी थाल्न पनि अनुरोध गर्नुभएको छ ।
प्रशिक्षणमा बेनी नगरका दशवटै वडाबाट करिव डेढ सय जना नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नगरकमिटि अध्यक्ष जिसीको अध्यक्षता, उपाध्यक्ष उपसचिव लक्ष्मण कटुवालको स्वागत र सचिव सुवास विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो । त्यस्तै शनिवार म्याग्दीको दरवाङमा मालिका गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टिको नीति कार्यक्रम, सिद्धान्त तथा महाधिवेशनको फैसलाको बिषयमा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ र स्थानीय तह निर्वाचनको तयारी बिषयमा जिल्ला कमिटि उपसचिव राजकुमार थापाले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालु, सचिवालय सदस्य सिता गुरुङ, विशाल गर्वुजा, मोतिराज गौतम, जिल्ला कमिटि सदस्य सोम बहादुर बिश्वकर्मा, पालिका कमिटि, वडा कमिटिका पदाधिकारी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।यसैगरि अखिल नेपाल महिला संघ रघुगंगा गाउँपालिका वडा नं २ भगवतिमा मिना भण्डारीको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटि गठन भएको छ । कार्यक्रममा निर्वाचनलाई केन्द्रित गरि प्रशिक्षण समेत दिइएको छ ।
कार्यक्रममा अनेमसंघका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष थमसरा पुनको प्रमुख आतिथ्यता, र नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र कटुवालको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रम अनेमसंघ रघुगंगा गाउँपालिका कमिटि अध्यक्ष यामकुमारी गर्वुजाको अध्यक्षता र सचिव दिपा पुनको संचालनमा सम्पन्न भएको थियो ।




