नाचगानबाट जुटाएर गुर्जाको जनकल्याण माविका शिक्षकलाई तलब भत्ता
काेराेला पोस्ट १ चैत्र २०७८, मंगलबार


म्याग्दी, १ चैत । धौलागिरि गाउँपालिका–१ गुर्जाखानीका बासिन्दाले नाचगान गरेर शिक्षकको तलब भत्ता जुटाउने गरेका छन् । जनकल्याण माविका निजी स्रोतका शिक्षकको तलव र तल्लो तहको दरबन्दी भए पनि माथिल्लो तहमा अध्यापन गराउने शिक्षकको भत्ता नाचगान गरेर जुटाउने गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनराम छन्त्यालले गाउँमा विदेशबाट आउने ‘लाहुरे’लाई स्वागत, विवाह, छेवार, गुन्युचोली देखाउने, किरिया, चौरासी पुजामा नाचगान गरेर शिक्षकको तलवभत्ता जुटाउने गरिएको जानकारी दिए ।

‘निजी स्रोतका शिक्षकको तलब भत्ताका लागि वार्षिक रु नौ लाख आवश्यक पर्छ’, उनले भने, ‘सो रकम जुटाउन शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति र शिक्षक अभिभावकले नाचगान गर्छौं ।’ विसं २०६८ देखि मावि तह सञ्चालन भएको विद्यालयमा दुई÷दुई जना बालशिक्षा सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीसहित १५ जना शिक्षक कर्मचारी छन् । मावि तहमा एक जना पुर्ण र चार आंशिक निजी स्रोतका शिक्षक रहेका प्रअ न्याउली छन्त्यालले बताए ।

‘विसं २०७६ सम्म चार जना पूर्ण निजी स्रोतका शिक्षकका लागि वार्षिक रु १४ लाख खर्च जुटाउनु पर्दथ्यो’, उनले भने, ‘दुई वर्षदेखि गाउँपालिकाले दुई जना शिक्षकको अनुदान र एक जना दरबन्दी मिलान गरेर पठाएपछि केही सहज भए पनि नाचगान गरेर आर्थिक स्रोत जुटाउनुपर्ने बाध्यता पूर्णरुपमा हटेको छैन ।’

नाचगानका अतिरिक्त विद्यालय सञ्चालनका लागि विकास योजनामा काम गरेर ज्यालाबापत पाउने रकमसमेत उपलब्ध गराउने गरिएको शिक्षक अभिभावक संघका अध्यक्ष गोर्खा छन्त्यालले बताए । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा करिब ३०० विद्यार्थी छन् ।