म्याग्दी ३० फागुन । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा म्याग्दी नदीमा आएको बाढीको कारण कटानको चपेटामा परेको तातोपानी बजार क्षेत्रको बस्ती संरक्षणको लागि रु १४ लाख बजेट विनियोजन भएको छ । सोमबार बसेको बेनी नगरपालिकाको कार्यपालिका बैठकबाट गत असारको मनसुनजन्य विपद्का कारण जोखिममा रहेको मसार बस्ती संरक्षणको लागि रु १० लाख र तातोपानी बस्ती संरक्षणका लागि रु ४ लाख बजेट विनियोजन भएको हो ।
रुपाताल परियोजनाबाट समेत संरक्षणको काम गरिरहेको भएपनि विद्यालय, बस्ती लगायतमा कटानको जोखिम कायमै रहेकाले नगरपालिकाले समेत थप बजेट विनियोजन गरेको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिए । गत असार १ गते राती म्याग्दी नदीमा आएको बाढीका कारण मसारका करिब एक दर्जन घरधुरी विस्थापित समेत भएका थिए । कार्यपालिका बैठकले सडक बोर्डबाट प्राप्त भएको रु ५५ लाख र नगरपालिकाले समपुरक कोषबाट २७ लाख गरि कुल रु ८१ लाख बजेटबाट बेनी नगरपालिका– २ स्थित हाँडेभिर–लभ्लीहिल सडक र बेनी नगरपालिका–३ स्थित दुधेखोला –हल्लेगौडा–भकिम्ली सडक मर्मत तथा स्तरोन्नती गर्ने निर्णय समेत गरेको प्रवक्ता बराईलीले बताए ।
बेनी नगरपालिका– ७ मा रहेको क्षत्री समाजको भवन पुननिर्माणको लागि रु १० लाख विनियोजन भएको छ । त्यसैगरि अघिल्लो बैठकबाट प्रत्येक वडामा रु ८ लाखको योजना सञ्चालन भएकोमा योजनालाई पूर्णता दिन थप रु २ लाखका दरले बजेट विनियोजन गर्ने निर्णय भएको छ । त्यसैगरि नेपाल सरकारबाट सशर्त अनुदानका रुपमा प्राप्त भएको बाली विकास कार्यक्रमको लागि आएको रु २५ लाख ५० हजार बजेटलाई वडा नम्बर १, ४, ५, ६ र ९ मा सञ्चालन गर्ने निर्णय समेत भएको छ ।
नगरप्रमुख हरिकुमार श्रेष्ठका अध्यक्षतामा बसेको बैठकले बेनी नगरपालिका–७ स्थित बिरेन्द्र चोकमा रहेको पिपलको रुखका हाँगा काँटछाँट गर्ने क्रममा रुखबाट खसेर ज्यान गुमएका मजदुरलाई नगरपालिकाले श्रम ऐन अनुसार उपलब्ध गराएको रु ७ लाख २५ हजारको आर्थिक सहायताको खर्चलाई अनुमोदन गरेको छ । कार्यपालिकाको बैठकबाट नगरपालिकाको सेवाप्रवाहलाई ब्यवस्थित गर्र्न लागि विद्यायन समितिबाट संसोधन गरी सिफारिस गरिएको कार्यविधिर्ला अनुमोदन गरिएको छ ।




