म्याग्दी, २९ फागुन । बेनीमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण बिषयकमा अन्तरक्रिया भएको छ । सामाजिक विकास कार्यालयको सहयोग र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा सरोकारवाला र जेष्ठ नागरिक तथा विद्यार्थीहरुको उपस्थितमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव समेटिएको बृत्तचित्र प्रदर्शन समेत गरिएको थियो । कार्यक्रममा सहभागीहरुले समाजको विकास र समृद्धिमा ज्येष्ठ नागरिका अनुभव र ज्ञान सीपहरु महत्वपूर्ण मागर्दशन बन्नेमा जोड दिएका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक एवम् मालिका गाउँपालिका–४ का वडा अध्यक्ष दिलिप शेरचनले ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान, सीप र अनुभवहरुलाई उपयोग गर्ने उपयुक्त वातावरण तयारमा ध्यान दिन सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बालबालिका र जेष्ठ नागरिकलाई सहज जीवनयापन बनाउन साहारा नदिने बाआमा र छोराछोरीलाई कारबाही गर्ने कानुन बनाउनुपर्ने भन्नुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले जेष्ठ नागरिक ज्ञानसिपको पुस्ता हस्तान्तरण र परम्परागत पाटीपौवा, मठमन्दिर र कलासस्कृति जोगाउनमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा मगरले ज्येष्ठ नागरिकले आफ्नो जिवनको सक्रिय अवस्थामा हाँसिल गरेका ज्ञान, सीप र अनुभवलाई समाजको अमुल्य सम्पतीको रुपमा पुस्तान्तरण गर्न कार्यक्रम समावेश गरिएको बताउँदै युवा, विद्यार्थीहरुलाई यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक नैनकुमार श्रेष्ठ, ध्रुवलाल शर्मा, लक्ष्मी जोसी, अंगद श्रेष्ठ लगायतले जिवनको उतार चढाब र ज्ञान सीप बारे पहिलो पटक सार्वजनिक कार्यक्रममा अनुभव अभिव्यक्त गर्न पाएकोमा धन्यबाद ज्ञापन गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी सञ्चारकर्मी पदम विश्वकर्मा, विद्यार्थीहरु विबा खाती, हिमाल आचार्य, ज्ञानेन्द्र मल्ल लगायतले हराउँदै गएका भाषा, संस्कृति, परम्परा र रहनसहनलाई ज्येष्ठ नागरिकका अनुभूतिका रुपमा वृत्तचित्रमा उतार्नु उल्लेखनीय काम भएको बताउँदै स्थानीय पाठ्यक्रमहरुमा समेत यस्ता बिषयबस्तुलाई समावेश गर्न सके नयाँ पुस्ताका लागि सम्पतीको रुपमा पुस्तान्तरण हुन सक्नेमा जोड दिनुभयो । सोसाईटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता र सचिब अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी लगायतको सहभागीता रहेको थियो ।




