पिप्ले–भगवती सडक कालोपत्रे योजना अलपत्रप्रति माओवादीको ध्यानकर्षण
काेराेला पोस्ट २६ फाल्गुन २०७८, बिहिबार


म्याग्दी २६ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जे.भीले बिचैमा काम छाडेपछि योजना अलपत्र परेको हो ।\

निर्माण कम्पनीका साझेदारहरुबिच आर्थिक लेनदेनको बिषयमा विवाद भएपछि एकसातादेखि कार्यक्षेत्रमा सम्पूर्ण काम ठप्प भएको छ । आयोजनाको थप भएको समयमा समेत काम नगरिकन निर्माण कम्पनीले काम छाडेपछि नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिकाले सम्बद्ध निकायमा ध्यानकर्षण गराएको छ । माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष हरि भण्डारी, वडा नम्बर २ का वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवाल र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रेशम कटुवालको नेतृत्वमा गएको टोलीले पूर्वाधार विकास कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई आयोजनाको बारेमा ध्यानकर्षण गराएका हुन् ।

ध्यानकर्षण पत्र बुझाउँदै माओवादी केन्द्रका रघुगंगा गाउँपालिकाका अध्यक्ष भण्डारीले कालोपत्रे सडक निर्माण गर्ने योजनालाई निर्माण कम्पनीले अलपत्र पारेपछि सम्बद्ध निकायालाई जानकारी गराउने र कानुन बमोजिम आबश्यक प्रकृया अगाडी बढाउन ध्यानकर्षण गराइएको बताउनुभयो । योजनालाई अधकल्चो बनाएर छाडेपछि प्रभावित क्षेत्रका स्थानीयमा चिन्ता बढेको छ, निर्माण कम्पनीलाई तत्काल कार्यक्षेत्रमा फर्काउने वातावरण बनाउन भूमिका खेल्न प्रशासन र योजना कार्यान्वयन गर्ने कार्यालयलाई आग्रह गरिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले सम्बन्धित कार्यालय र निर्माण कम्पनीसंग आबश्यक सोधपुछ गरि अलपत्र योजनालाई गती दिनका लागि आबश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले कुनैपनि कम्पनीलाई योजनालाई बिचैमा अलपत्र छाडेर हिड्ने छुट नहुने समेत बताउनुभयो । योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले गत जेठमै योजनालाई सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म आधाको हाराहारमिा मात्रै भौतिक प्रगति गरेको छ । अन्तीम पटकका लागि थप भएको समयसिमा समेत सकिन एक महिना मात्रै बाँकी छ ।

गलेश्वरदेखि बगैँचासम्मको पहिलेको ट्याकमा पहिरोले क्षति पु¥याएकाले पहिलो चरणमा पिप्लेदेखि भगवतीसम्मको ५ किलोमिटर सडकलाई कालोपत्रे गर्ने भनिएपनि निर्माण कम्पनीले कार्यक्षेत्र नै छाडेपछि यस क्षेत्रका स्थानीय रुष्ट बनेका छन्

सुरुवातमा निर्माण कार्यको जिम्मा लिने रघुगंगा गाउँपालिका–३ का वडा अध्यक्ष समेत रहनुभएका जिवनकुमार मल्ल र मुख्य ठेकेदार रत्न खड्काबिच लेनदेनमा समस्या देखिएपछि आफूहरुले कार्यक्षेत्रकाम काम रोकेर हिड्नुपरेको निर्माण कम्पनीको तर्फबाट परिचालित प्राविधिकहरुको भनाई छ । कम्पनीले कार्यक्षेत्रमा काम गर्ने मजदुरहरुको पारिश्रमिक र सामानको ल्याएको खर्च समेत तिर्न बाँकी छ ।लेनदेनमा मुख्य ठेकदार र पेटी ठेकदारविच विवाद हुदाँ कार्यस्थलमा खटिएका मजदुर एकमहिनादेखि कामविहिन भएको छ ।

भ्याट सहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता भएको यस योजनामा ८ किलोमिटर सडकलाई ८ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्रे गर्नुपर्ने उल्लेख छ । दशकअघि ट्याक खुलेको यो सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा आवत जावतका लागि स्थानीयबासीलाई सास्ती हुँदै आएको छ ।