म्याग्दी, २४ फागुन । मालिका गाउँपालिका– ५ देविस्थानस्थित भिरखर्कको जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । भिरखर्क सामुदायीक जंगलमा लागेको आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा अन्दाजी २६ बर्षिय मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सोही आगलागीमा मृतक बोहराका भाई २१ बर्षिय मनबहादुर बोहरा गम्भिर घाइते भएका छन् ।
सोमबर रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन् । जंगलमा लागेको आगो बस्तिमा आउन थालेपछि आगो निभाउने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी बिरेन्द्रराज गुरुङले जानकारी दिए । उनका अनुसार, मृतक बोहराका भाईको स्वास्थ्य अवस्था पनि गम्भिर रहेको छ । मृतकको शव पोष्ट मार्टमको लागि बेनी अस्पताल ल्याउने तयारी भइरहेको छ ।
इलाका प्रहरी कार्यालय दरबाङमा खटिएको प्रहरी टोली ,स्थानीयबासी ,युवा क्लब ,लायन्स क्लब ,रेडक्रसकर्मीको सहयोगमा उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा ल्याइएको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि घाइते बोहरालाई थप उपचारको लागि हेलिकप्टर मार्फत पोखरा लगिएको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिए । दरबाङ बजारबासी ,लायन्स क्लब ,दरबाङ विपद् व्यवस्थापन समिति ,जनप्रतिनिधी ,संघ संस्था र स्थानीयबासीको सहयोगमा प्रभु हेलीकप्टर मार्फत पोखरा स्थित बिएण्डबी अस्पताल लगिएको छ ।




