गाउँमा पुग्यो नक्कली नोट
काेराेला पोस्ट २० फाल्गुन २०७८, शुक्रबार


म्याग्दी, २० फागुन । रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङमार्गमा काम गर्ने मजदुरबाट संकास्पद नोट फेला परेको छ । करिब दुई साता अघि जलविद्युत आयोजनाको पिप्ले स्थित अडिट नम्बर ३ मा काम गर्ने एक मजदुरले स्थानीय पसलमा सामान किन्न लगेका दुई वटा नेपाली एक हजारका नोट संकास्पद देखिएको थियो ।
पसलमा लगेका दुबै नोटलाई सदरमुकाम बेनीमा ल्याएर एक वित्तिय संस्थामा परिक्षण गर्दा उक्त नोट सक्कली नभएको र संकास्पद भएको पुष्टि भएको थियो । दुबै नोट बाख्ला र खस्रो भएपछि स्थानीयले बेनीमा ल्याएर वित्तिय संस्थामा उक्त नोटलाई परिक्षण गराएका थिए । उक्त क्रममा दुबै नोट सक्कली नभएपछि जलविद्युतमा काम गर्ने मजदुरहरु मार्फत गाउँमा ठुलो संख्यामा नक्कली नोट भित्रिएको हुनसक्ने त्रास बढेको छ ।
प्रारम्भीक अनुसंधानको क्रममा आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)को तर्फबाट अडिटमा खटिएका सुपरभाइजर तहका प्रतिनिधिबाट मजदुर हुँदै पसलसम्म उक्त नक्कली नोट पुगेको भेटिएको छ । यस आयोजनाको सुरुङ निर्माणतर्फ अधिकाँश भारतीय कामदार कार्यरत छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले सुरुङ, विद्युतगृहत र पावर हाउस निर्माणका काम गरिरहेको छ ।
मजदुरबाट फेला परेका संकास्पद मानिएका नक्कली नोटले स्थानीयबासी चिन्तीत बनेका छन्, पसलमा लगेका दुई वटै नोट नक्कली हुनुले कतै ठुलै संख्यामा गाउँमा नक्कली नोटको बिगविगी त भएको छैन भन्ने कुराले हामीलाई गम्भीर बनाएको स्थानीयबासी नारायण सुवेदीले भने । ‘सुनियोजित रुपमै नक्कली नोट फिजाइएको हुन सक्छ, यस बिषयमा गम्भिर छानविन गरि दोषिमाथि कारबाही नक्कली नोट नियन्त्रण गर्न सम्बन्धीत सरोकारवालाको ध्यान जानुपर्ने स्थानीयको माग छ।’ चुनाव मिति घोषणासंगै २०७४ सालको चुनावमा पनि नक्की नोट म्याग्दीमा फेला परेको थियो ।