पछैमा ‘रावण पार्क’ निर्माण शुरु
काेराेला पोस्ट १२ फाल्गुन २०७८, बिहिबार

म्याग्दी, १२फागुन । म्याग्दीको पौराणिक स्थल बेनी नगरपालिका– ५ पछैमा रावण पार्क (उद्यान) निर्माण शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा पछैमा रावण पार्क निर्माण शुरु गरेको हो ।

ठेक्का पाएका निर्माण ब्यवसायीले रावणको मुर्ति बनाउनेसँगै पछैमा आएर प्रारम्भिक चरणको काम शुरु गरेका वडा अध्यक्ष लक्ष्मण बाँनियाले जानकारी दिए । रावण पार्क बनाउन गत भदौमा काठमाडौको धर्मा एस कास्यप जेभीले गत भदौमा रु. एक करोड ७६ लाख ७७ हजार ५६३ मा ठेक्का सम्झौता गरेको थियो ।

बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीका अनुसार ठेक्का प्रतिस्पर्धामा सबैभन्दा कम कबोलेको धर्मा एस कास्यप जेभीसँग सम्झौता भएको हो । “पर्यटन मन्त्रालयले रु. दुई करोड ११ लाख र नगरपालिकाले रु. एक करोड १४ लाख बिनियोजन गरेर ठेक्का आव्हान गरेका थियौ,” उनले भने “पहिलो चरणमा रावणको मुर्ति, बगैचा, बिश्राम स्थल लगायतका पुर्बाधार तयार पार्न लागिएको हो ।”

निर्माण कम्पनीका इञ्जिनियर सन्तोष ओझाले काठमाडौमा रावणको मुर्ति तयार पार्ने काम भैरहेको जानकारी दिए । २०७९ पुष महिनामा रावण पार्क निर्माण गर्ने लक्ष्य सहित पछैमा अन्य संरचना बनाउन पनि शुरु गरेको उनले बताए । १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलत्स्य क्षेत्रको चार रोपनीमा रामायण पार्क बनाउन लगाएको हो । हालको मन्दिर, हवन कुण्ड, रावणको नाबी गाडेको ठाउँलाई यथावत राखेर पुर्बाधार बनाइने भएको छ ।

हिन्दु धर्मग्रन्थ भागवत रामायणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा ब्याख्या गरिएको छ । बि.स. २०६६ मा म्याग्दी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष प्रमोदकुमार श्रेष्ठ लगायतले धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा रामायण पार्क बनाउने योजनाको परिकल्पना गरेका थिए ।

समुन्द्रि सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित पछैबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि हिमशृङ्खला, सुर्योदय, बेनी बजार लगायत म्याग्दी, पर्वत र बागलुङको ग्रामिण बस्तीको मनोरम दृष्य अवलोकन गर्न पाईन्छ । बेनी बजारदेखि यातायात सुविधामा पछै पुग्न सकिन्छ ।