धवलागिरिमा एम्बुलेन्स सञ्चालन
काेराेला पोस्ट १० फाल्गुन २०७८, मंगलबार


म्याग्दी १० फागुन । म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट रहेको यस गाउँपालिकाका नागरिकलाई सरल र सर्वसुलभ रुपमा उपचारको लागि सघाउन गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो ।
विभिन्न प्रकृया पुरा गरि भारतबाट भन्सार छुटमा एम्बुलेन्स गाडी खरिद गरिएको र कार्यविधि बनाएर सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।

‘‘अहिले गाउँमा विरामी परेर उपचारको लागि बेनी हुँदै पोखरा सम्म पुग्न परेमा यातायातमा मात्रै रु ३० हजारसम्म खर्च हुने गरेको छ, त्यसमा पनि भनेको समयमा सवारी साधन पाउन मुस्कील छ, कम्तीमा अस्पताल सम्म समयमै र सुलभ शुल्क तिरेर पुग्ने वातावरण सिर्जना गर्न एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो’’–अध्यक्ष पुनले भन्नुभयो ।

गाउँपालिकाले काठमाण्डौको अग्नी स्वरुम मार्फत रु १० लाख ७९ हजार ७६५ लागतमा उक्त गाडी खरिद गरेको जनाएको छ । गाडीको सिट व्यवस्थापन, पाटेसन, अक्सीजन लगायतको प्रवन्ध गर्ने कार्यमा थप रु १ लाख २७ हजार खर्च भएको अध्यक्ष पुनले बताउनुभयो ।

गाउँपालिकाले दुई बर्षअघिदेखि एम्बुलेन्स खरिदको प्रकृया अघि बढाएकोमा भन्सार छुटबाट खरिद गर्दा प्रकृया लामो भएकाले एम्बुलेन्स सञ्चालनमा ढिलाई भएको जनाएको छ । कार्यपालिका बैठक मार्फत कार्यविधि निर्माण र समिति गठन गरि गाउँपालिका मातहत रहने गरि उक्त एम्बुलेन्सलाई सञ्चालन गरिने जनाइएको छ ।