म्याग्दी, ८ फागुन । कालीगण्डकी, म्याग्दी र रघगंगा करिडोरमा जिल्लामा दर्जनाँै बस्ती नदी कटानको जोखिममा छन् । जिल्ला सदरमुकाम बेनी सहित दर्जनाँै बजार र बस्तीहरु नदि कटानको चपेटामा पर्दैै आएका छन् । नदीको किनार सम्मै बस्ती बसाउने र नदिनालामाथि नै अतिक्रमण गर्ने मानविय कारणहरु नै बजार र बस्तीतर्फ हुने नदि कटानका प्रमुख कारण मानिएका छन् ।
पछिल्लो पटक चर्चामा आइरहने ‘बस्तीमा बाढी नभई बाढी बग्ने ठाउँमा बस्ती बसेको’ कारण बाढी र नदी कटानबाट ठुलो भौतिक र मानविय क्षति हुने गरेको तथ्यहरु छन् । म्याग्दीमा हरेक बर्ष बजार र बस्तीलाई नदी कटानबाट जोगाउन करोडौँ रकम खर्च हुने गरेको छ । स्थानीय, प्रदेश र संघीय सरकार मार्फत विभिन्न आयोजना हरु नै सञ्चालन हुने गरेपनि बजार र बस्तीहरु नदी कटानबाट सुरक्षित रहने अवस्था भने अझै बनेको छैन् । बरु नदी कटान रोकथामका लागि बनाइएका संरचनाहरु नै हरेक बर्ष क्षति हुने गरेको छ ।
नदी कटानका कारण उच्चजोखिममा रहेका पश्चिम म्याग्दीका सात स्थानमा बस्ती संरक्षण र नदि नियन्त्रणको काम अझै सुरुवात नहुँदा स्थानीयवासी चिन्तित भएका छन् । बेनी नगरपालिका–२ बगरफाँट, वडा नं ३ दूधेखोला, वडा नं ४ सिङ्गा, तातोपानी, मसार, तोराखेत तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार संरक्षणको लागि नदी कटान नियन्त्रणको कामअझै थालिएको छैन । म्याग्दीनदीकाृ कटानबाट जोखिममा रहेका ठाउँहरूको संरक्षणमा सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासीले गुनासो गरेका छन् । गत असार, साउन, भदौ, असोज र कात्तिकमा म्याग्दी, कालीगण्डकी र सहायकनदीले कटान गरेको ठाउँमा अहिलेसम्म पनि नियन्त्रणको काम सुरु भएको छैन ।
कतिपय ठाउँमा बजेट र योजनाको अभाव भएको छ । ‘‘मध्य हिउँद बितिसक्यो, अझै काम सुरु भएको छैन, हिउँदमा नदीको सतह घटेको समयमा कामहुँदैन, बर्खा लागेपछि काम सुरु हुन्छ, योजना दिगो हुँदैन’’– बगरफाँटका जीतबहादुर कार्कीले भने । यसैगरी प्राकृतिक उपचारस्थलका रूपमा परिचित बेनी नगरपालिका–४ तातोपानीको मसारमा पनि नदी नियन्त्रण लागि अहिलेसम्म काम सुरु नभएको स्थानीयवासी कुमार केसीले जानकारी दिए । मसारमा नदी कटानबाट दुई घर भत्किएका र १५ परिवार विस्थापित हुन पुगेका थिए । दुई सय घर कटानको उच्च जोखिममा रहेको उहाँले जानकारी दिनुभयो ।
सिङ्गातातोपानीको सरस्वती मावि र ज्वालामाई भगवतीआमा समूहको भवनसमेत कटानका जोखिममा छ । तत्कालै नियन्त्रणको काम सुरु नगरे आउने बर्खामा सो नदीमा आउने बाढीले थपक्षति गर्ने खतरा रहेको जनाइएको छ । सो विद्यालयका प्रधानाध्यापक सुरत बानियाँले नदी नियन्त्रण योजनाका लागि बजेट व्यवस्थापन गर्न ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयमा जाने तयारी भएको जानकारी दिए ।
यसैगरी बेनी–२ बगरफाँटमा पनि कटान नियन्त्रणका लागि बजेट व्यवस्थापन हुन सकेको छैन । सो नदीको कटानका कारण बगरफाँटको १५० रोपनी क्षेत्रफलभन्दा बढी खेतीयोग्यजमिन नास भइसकेको र नदी कटानको समस्या अझै विकरालबन्दै गएको स्थानीयबासीको भनाइ छ । जिल्लामा नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदीकिनारमा ग्याबिन जाली भर्ने गरिएको भएपनि वर्षामा ढुङ्गा र लेदो सहित उर्लिएर आउने नदीको तीव्रगतिका कारण बस्तीतर्फ कटान गर्ने क्रम छोडेको छैन ।




