म्याग्दी ६ फागुन । धौलागिरिको पहिलो क्यूएए मान्यता प्राप्त म्याग्दी बहुमुखी क्याम्पसले स्नातक तहमा सेमेस्टर प्रणाली अन्तरगत कम्प्युटर, सूचना प्रविधि र विज्ञान विषयमा अध्यापन गराउने तयारी गरेको हो ।
क्याम्पसमा आयोजित पत्रकार अन्तरक्रियामा समय सुहाउँदो प्राविधिक शिक्षा प्रदान गर्ने उदेश्यले जुनसुकै बिषय लिएर दश जोड दुई उर्तिण गरेका विद्यार्थीहरुले अध्ययन गर्न सक्ने गरि स्नातक तहमा कम्प्युटर र सूचना प्रविधि बिषय (बिआईसिटीई) को अध्यापन गराउन लागिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले बताए । ‘क्याम्पसले स्नातक तहमै शिक्षा संकायमा विज्ञान बिषयमा समेत अध्यापन हुने छ।’

जिल्लामा अत्यावश्यक र रोजागारको सम्भावना भएकाले कम्युटर र सूचना प्रविधि र विज्ञान बिषयको अध्यापन गराउन लागिएको उन्को भनाई छ । कम्युटर र सूचना प्रविधि अध्ययनको लागि कक्षा १२ मा न्यूनतम २.०१ ‘सि’ जिपिए प्राप्त गरी उत्र्तिण भएको हुनुपर्ने र विज्ञान बिषयको लागि कक्षा १२ मा विज्ञान बिषय लिएर पढेको वा विज्ञान संकायमा अध्ययन गरेका विद्यार्थीले आवेदन दिन सक्ने क्याम्पसले जनाएको छ ।
स्तानक तहमा कम्प्युटर र सूचना प्रविधि बिषयमा धौलागिरिमै पहिलो पटक म्याग्दी क्याम्पसले अध्यापन गराउन लागेको क्याम्पसका निमिक्त क्याम्पस प्रमुख श्रीधर सुबेदीले जानकारी दिए । यस बर्ष ३५ जनाको कोटा रहेकोमा अहिलेसम्म १२ जना सम्पर्कमा आइसकेको र फागुन १० गतेसम्म नियमित र फागुन १५ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने छन। अध्ययन गर्न आउने विद्यार्थीहरुलाई सुविधासम्पन्न छात्रावासको समेत सुविधा भएकाले रोजगारमा कार्यरत र बाहिर जिल्लाबाट अध्ययनको लागि आउनेहरुले समेत आवेदन दिएर भर्ना हुन सक्नेछन् ।
आठ सेमेस्टरमा चार वर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन अध्यापन गराइने क्याम्पसले जनाएको छ। (बिआईसिटीई) उत्र्तिण भएका विद्यार्थीलाई सरकारी तथा गैरसरकारी संस्थामा आईटी अधिकारी, विद्यालयमा आइटी तथा कम्प्युटर शिक्षक, सफ्टवेयर डेभलपर सहित सूचना र सञ्चारको क्षेत्रमा समेत अवसर हुनेछ । स्नातक तहको विज्ञान शिक्षा बिषयको अध्यापनले जिल्ला बाहिर गएर अध्ययन गर्नुपर्ने बाध्यताको अन्त्य संगै जिल्लामा रहेका मावि तहका शैक्षिक संस्थाहरुमा विज्ञान शिक्षकहरुको अभाबलाई समेत हल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
विश्व विद्यालय अनुदान आयोगबाट(क्युएए) को प्रमाणपत्र प्राप्त क्याम्पसले यसअगाडी व्यवस्थापन संकायमा स्नातकोत्तर तहको पठनपाठन गर्दै आएको छ भने शिक्षा र मानविकी बिषयमा स्नातकोत्तर तहको पठनपाठन गराउने तयारी समेत गरेको छ । क्याम्पस सञ्चालक समितिले क्याम्पसको भौतिक तथा शैक्षिक व्यवस्थापन र थप प्रभाबकारी बनाउन विभिन्न उपसमिति गठन गरि कार्यविधि बनाएर अघि बढेको सञ्चालक समितिका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए । २०४८ साल पुस १८ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल दश जोड दुई र स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन र व्यवस्थापन संकायमा स्नातकोत्तर तहको पढाई हुँदै आइरहेको छ भने करिब १ हजार ३ सय ५० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।




