उज्यालो बैकल्पिक विद्यालयमा म्याग्दी जेसीजको आर्थिक सहयोग
काेराेला पोस्ट ३ फाल्गुन २०७८, मंगलबार


बेनी, ३ फागुन । विद्यालय जाने उमेरमा अध्ययन गर्ने चाहना हुँदा हुँदै पनि विविध कारणले विद्यालय गई औपचारिक शिक्षा हासिल गर्न नपाउनु भएका महिला दिदी बहिनी, आमाहरुले उज्यालो बैकल्पिक विद्यालय बेनीमा म्याग्दी जेसीजले आर्थिक सहयोग गरेको छ । म्याग्दी जेसीज २०२२ का शाखा अध्यक्ष जेसी सन्दिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रमबाट म्याग्दी जेसीजले रु १,००,०००।– रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

विद्यालयका का.वा. अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरिएको थियो । हाल कक्षा १० सम्म अध्ययन हुने उक्त विद्यालयबाट २०७७ को एसईईमा ७ जना आमाहरुले एसईई उत्तिर्ण समेत गरिसक्नुभएको छ । हाल उक्त विद्यालयमा आर्थिक संकट आई सञ्चालनमा कठिनाई भएपछि आर्थिक सहयोग गरिएको हो ।

कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष सिनेटर रमेशकुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु, सञ्चालक समितिका सदस्यहरुको सहभागीता रहेको थियो । आर्थिक सहयोग प्रदान गरेकोमा विद्यालय परिवारले म्याग्दी जेसीजलाई धन्यवाद ज्ञापन गरेको थियो ।