म्याग्दी, २१ माघ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गएराति अविरल वर्षासँगै चिसो बढेपछि हिमपात भएको हो । हिमपातले चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ ।
हिमाली क्षेत्रमा पटकपटक हिमपात हुने भए पनि पहाडी क्षेत्रसम्म नै हिमपात भएको यो वर्षको दोस्रोपटक हो । बिहीबार साँझदेखि नै परेको हिमपात डेढ फिटसम्म जमेको धवलागिरि गाउँपालिका– १ का वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । हिमपातका कारण स्थानीय लघुजलविद्युत् परियोजना अवरुद्ध भएको छ ।

जिल्लाको धवलागिरि गाउँपालिकाको अधिकांश क्षेत्रमा हिमपात भएको छ । त्यसैगरी रघुगंगा, मंगला, मालिका र अन्नपूर्ण गाउँपालिकाको समेत हिमाली र उच्च पहाडी तथा बेनी नगरपालिकाको उच्च पहाडी डाँडाकाँडा हिमपातले सेताम्मे बनेका छन् । सदरमुकाम बेनीदेखि नजिकका पर्यटकीय स्थलहरू रुइसे, टोड्केलगायतका स्थानमा नजिकका गाउँका स्थानीयवासी बिहानैदेखि हिउँमा रमाउन पुगेका छन् ।
रातभर हिमपात भएको र बिहान हिउँ र वर्षा दुवै रोकिएकाले नजिकका बस्तीहरूबाट हिमपातमा रमाउनेहरू पर्यटकीय स्थल रुइसेमा पुग्न थालेको स्थानीय युवा हरि भण्डारीले बताए । यसैबीच हिमपात र वर्षा भएपछि कृषक उत्साहित बनेका छन् । गहुँ, जौ, केराउ लगायतका हिउँदे बालीमा सिँचाइ र खेतमा मकै छर्ने तयारी गरेका कृषकलाई वर्षा र हिमपातले राहत मिलेको छ ।




