आइसीयू र भेन्टिलेटर संचालनमा जनशक्तिको अभाव
काेराेला पोस्ट १७ माघ २०७८, सोमबार


बेनी, १७ माघ । म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसियू) संचालनमा जनशक्ति अभाव भएको छ । आईसियू संचालनमा दरबन्दी नहुनु र करारका पनि जनशक्ति नहुदा महत्वपूर्ण उपकरण प्रयोगविहिन अवस्थामा छन् ।


गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्वसुलभ उपचारको ब्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले विसं २०७६ असारमा अस्पतालमा रु. एक करोड २५ लाख खर्चेर दुई वटा भेन्टिलेटर सहित पाँच श्यया क्षमताको आइसियू कक्ष स्थापना गरेको थियो ।

दरबन्दी र जनशक्ति नहुँदा उपकरण भएपनि आइसीयू चलाउन नसकेको अस्पताल प्रशासनले जनाएको छ । आइसियू कक्ष सञ्चालन गर्न कम्तीमा चार जना मेडिकल अधिकृत, दश जना स्टाफ नर्स, दुई जना परामर्शदाता र चार जना सहयोगी पदका जनशक्ति आवश्यक पर्ने अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेलले बताए ।


‘५० शैया क्षमताका अस्पतालमा हाल रहेको ७ चिकित्सक र करारका सहित २४ स्टाफ नर्सलाई नियमित सेवा दिन ग्राहो भएको छ,’ उनले भने– ‘आइसीयू चलाउने हो भने मेडिकल, इमरजेन्सी, ओपिडी कक्ष बन्द गर्नुपर्ने अवस्था छ । आधारभूत सेवालाई प्राथमिकता दिनुप¥यो । आइसीयू चलाउने जनशक्तिको दरबन्दीनै छैन् । चलाउन नपाएरै उपकरण बिग्रने होकी चिन्ता छ ।’


गण्डकी प्रदेश सरकार मातहत रहेका ११ वटै जिल्लाका अस्पतालमा भेन्टिलेटरसहितको आइसियू कक्ष बनाएर डेढ बर्षअघिनै उपकरण जडान भएका थिए । अतिरिक्त जनशक्ति नभएपछि मौजुदा जनशक्तिबाटै बालबालिका उपचार कक्षको आइसीयू कक्षलाई प्रयोगमा ल्याउने तयारी गरिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।अस्पतालमा विद्यमान चिकित्सक र स्वास्थ्यकर्मीबाट सेवा दिन सकिने भएकोले बालबालिका उपचार कक्षको आइसीयूलाई प्रयोगमा ल्याउने गरी पुर्वाधार तयार गरिएको छ ।


जडान गरिएका आईसीयू उपकरण प्रयोगविहीन हुँदा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पु–याउनुपर्ने र हेलिकप्टर चार्टर गरेर तत्कालै जिल्ला बाहिर जान नसक्ने गरिब बिपन्नले ज्यान गुमाउनुपर्ने दुःखद अवस्था रहेको छ ।