बेनी–जोमसोम सडकमा माघ १० गतेदेखि समयतालिका लागू हुने
काेराेला पोस्ट ६ माघ २०७८, बिहिबार


म्याग्दी, ६ माघ । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिहिबार बसेको बैठकले राष्ट्रिय गौरबको उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नम्बर २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न समयतालिका लागू गर्ने निर्णय गरेको हो ।


आयोजना प्रमुख जगत प्रजापतिले २०७८ माघ १० गतेदेखि २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ बजेदेखि ४ बजेसम्म सडकमा यातायात आवत जावत बन्द गरेर बिस्तार र निर्माणको काम गर्न समयतालिका बनाएको जानकारी दिनुभयो ।


महभिर खण्डमा चट्टान काट्नुपर्ने र नौनीबगर खण्डमा बिस्तार एवम् स्तरोन्नति गर्नका लागि समय तालिका बनाएका हौ, उहाँले भन्नुभयो । दुर्घटनाको जोखिम न्युनीकरण र निर्माणको कामलाई ब्यवस्थित तथा तिब्र बनाउन यातायात सञ्चालनको समयतालिका बनाउनुपरेको हो ।
बि.स. २०७४ मा शुरु भएको चिनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दुरिको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङको छ वटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति ६५ प्रतिशत छ ।