कांग्रेसका संस्थापक सभापति बोगटीको २६ औं स्मृति दिवस
काेराेला पोस्ट ५ माघ २०७८, बुधबार


बेनी, ५ माघ । नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २६ औं स्मृति दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ । बेनी नगरपालिका– १ रत्नेचौर बोगटी निवासमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूजिल्लामा कांग्रेसको जग बसाउन स्वर्गिय बोगटीले खेलेको भूमिकालाई आत्मसाथ गरी पार्टीलाई थप उचाईमा पुर्याउनुपर्नेमा जोड दिएका थिए ।


स्मृति दिवसको उद्घाटन गदैं नेपाली कांग्रेसकी केन्द्रिय सदस्य चम्पादेवी खड्काले पार्टीका संस्थापकहरूको सपना पुरा गर्ने गरी पार्टीका हरेक गतिविधिहरू अगाडी बढाउनुपर्ने बताईन । उनले देशमा संकट पर्दा कांग्रेसको नेतृत्वमा गरेको विभिन्न आन्दोलनहरुले मुलुकलाई निकास दिएको बताईन ।

स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, पूर्व सहसभापति नेत्र बहादुर महत, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर गर्बुजा, साहित्यकार एवम् नेकाका नेता अजयमिलन श्रेष्ठ, वडाका निर्वतमान सभापति बसन्त बोगटी र नरबहादुर थापा क्षेत्रीले मन्तब्य राखेका थिए ।

त्यस्तै ओम्बो ट्रस्टद्धारा भानु माविमा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने यमुना नेपालीलाई नगद ५ हजार सहित सम्मान गरिएको थियो भने अपाङ्गता भएका विपन्न परिवार लालबहादुर किसान र रामजी नेपालीलाई न्यानो कपडा वितरण गरिएको थियो ।


संस्थापक सभापति स्व. बोगटीलाई मरणोपरान्त रत्नेचौरको रत्न“ उपाधि सहित सम्मान गरिएको थियो । सोही अवसरमा प्रमुख अतिथि खड्काले स्वर्गवासी ओमबहादुर बोगटीका पत्नी लीला बोगटीलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेकी थिईन । स्मृति दिवसको वडा सभापति कमल थापा मगरको अध्यक्षता र महाधिवेशन प्रतिनिधि विक्रम बोगटीको सञ्चालनमा सम्पन्न भएको थियो।