रघुगंगाको कार्यालय भवन निर्माण
काेराेला पोस्ट २ माघ २०७८, आइतबार


म्याग्दी, २ माघ । रघुगंगा गाउँपालिकाले भवन निर्माण गरि आफ्नै भवनबाट सेवा प्रवाह गर्न सूरु गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाटँमा दुई तले भवनमा १४ वटा कोठा बनाएर ाउँपालिकाको मुख्य र बिषयगत शाखाहरुको सेवा एउटै भवनबाट दिने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।


गत बर्ष सभाहलको प्रयोजनका लागि भवन निर्माण सुरु भएपनि कोठा र तला थप गरि सभाहल सहितको कार्यालय भवन निर्माण गरिएको बताए । रु १ करोड ६८ लाख लागत अनुमान गरिएको सभाहल सहितको उक्त कार्यालय भवन निर्माणमा गण्डकी प्रदेश सरकार मार्फत विनियोजन भएर पूर्वाधार विकास कार्यालय मार्फत रु २६ लाख ५७ हजार रकम भुक्तानी भएको र बाँकी बजेट गाउँपालिकाले नै व्यवस्थापन गरेको जनाइएको छ । दुई तला भवन निर्माण भएपछि अहिले माथिल्लो तलामा सभाहल निर्माणको काम भैरहेको छ । भवन र सभाहल निर्माणमा ठेक्का मार्फत रु ७६ लाख र उपभोक्ता समिति मार्फत रु ५३ लाख बराबरको बजेटबाट निर्माणको काम गरिएको जनाइएको छ । माथिल्लो तलामा दुई सय जना क्षमताको सभाहल निर्माण भैरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।


गाउँपालिकालले मुख्य प्रशासनीयक र बिषयगत शाखाहरुको सेवा प्रवाहका लागि ६ वटा घर भाडामा लिएर मासिक रु ८५ हजार भाडा तिर्दै आएको थियो। आफ्नै कार्यालय भवन निर्माण गरेपछि भने स्वास्थ्य शाखा र शाखागत स्टोर भाडाकै घरमा रहने र अन्य सबै सेवा आफ्नै कार्यालयबाट प्रवाह गर्ने गाउँपालिकाले जनाएको छ । भवन निर्माण भएपछि मासिक ५० हजार बढी घरभाडा बराबरको रकम जोगिने भएको छ ।


गाउँपालिकाको जग्गा व्यवस्थापन समितिले मौवाफाँटमा २३ जना जग्गाधनी मार्फत गाउँपालिकाको प्रशासकीय भवन लगायतको पूर्वाधार निर्माण गर्ने प्रयोजनका लागि साढे १२ रोपनी जग्गा निशुल्क उपलब्ध भएपछि गाउँपालिकाले बजेट विनियोजन गरेर जग्गा सम्माउने, बाटो, विजुली, नाली लगायत निशुल्क प्राप्त जग्गालाई गाउँपालिकाको नाम लिने प्रक्रिया अन्तिम चरणमा रहेको गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीले जानकारी दिए ।