म्याग्दी, १९ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । सोमबार आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर बालश्रममुक्त वडा घोषणा गरिएको हो ।
यो संगै गाउँपालिकाको ८ वटै वडालाई बालश्रममुक्त वडा घोषणा भएको छ । रघुगंगा गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धि कार्यविधि २०७७ मा भएको व्यवस्था अनुसार, गाउँपालिकालाई बालश्रममुक्त पालिका बनाउने अभियान सञ्चालन गरेको थियो । गाउँपालिकामा रहेका ८ वटै वडालाई बालश्रममुक्त घोषणा भएसंगै गाउँपालिका बालश्रममुक्त बनेको र निकट भविश्यमा औपचारिक कार्यक्रम गरि पालिकालाई बालश्रममुक्त घोषणा गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
रघुगंगाको ११ औँ गाउँसभाले समेत कार्यपालिका बैठकको सिफारिस बमोजिम गाउँपालिकालाई बालश्रममुक्त पालिका घोषणा गर्ने निर्णय गरिसकेको छ । गाउँपालिकाभित्रका ११ सय घरधुरी पहिचान गरि सर्वेक्षण गर्दा कुनैपनि बालबालिकाहरु बालश्रममा नरहेको तर १५० जना बालबालिका बालश्रमको जोखिममा रहेको पाईएको थियो । अभियानको क्रममा जोखिममा रहेका बालबालिकाहरुलाई झोला, पोशाक र शैक्षिक सामाग्री सहयोग गर्ने गरिएको र उनीहरुका अभिभावकहरुलाई दिगो रोजगारितर्फ प्रेरित गर्न शिपमुलक तालिम सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।
भगवतीमा भएको कार्यक्रममा बालश्रमको जोखिममा रहेका २० जना बालबालिकाहरुलाई गाउँपालिकाबाट झोला, पोशाक, शैषिक सामाग्री वितरण गरिएको थियो भने सामाजिक विकास कार्यालयबाट थप ज्यामिति बक्स, क्यालकुलेटर, घडी लगायतका सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले भगवती संगै गाउँपालिकाका सबै वडाहरु बालश्रममुक्त घोषणा भएकाले आगामी दिनमा घोषणाको व्यवहारिक कार्यान्वयनमा समेत लाग्न सबै सरोकारवालाहरु जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष रिमबहादुर कटुवालले बालश्रम सामाजिक अपराध भएकाले बालबालिकाहरुलाई कानुन विपरितको श्रममा लगाउन नहुने बताउँदै घोषणाको व्यवहारिक कार्यान्वयका लागि वडाका हरेक श्रम हुने क्षेत्रलाई निगरानी गरिने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य विष्णुकुमारी भण्डारी, रसिला परियार, नेपाली काँग्रेसका प्रतिनिधि चेतनाथ सुवेदी, नेकपा एमालेका तप्तबहादुर थापा, नेकपा माओवादी केन्द्रका नरबहादुर भण्डारी, मुक्तिधाम माध्यमिक विद्यालयका प्रअ अमर बहादुर केसी, देउराली आधारभुत विद्यालयका प्रअ नरेन्द्र बहादुर भण्डारी, सिद्धार्थ ज्ञानमन्दिर आधारभुत विद्यालयका प्रअ तोरनबहादुर श्रेष्ठ, धौलागिरि आधारभुत विद्यालयका शिक्षक कलादेवी केसी, बालक्लबका प्रतितिनधि श्रीपा भण्डारी, सिर्जनशिल आमा समुहका विन्दु भण्डारी लगायलते भन्तव्य राख्नुभएको थियो ।




