म्याग्दी, १४ पुस । म्याग्दी मिडिया सोसाईटीले जिल्लाका १० जना पत्रकारहरुको सामूहिक स्वास्थ्य बीमा गरेको छ । सोसाईटीको संस्थागत निर्णय अनुसार, संस्थामा आबद्ध पत्रकारहरुको एक बर्षको लागि स्वास्थ्य बीमा गरिएको हो । संस्थामा आबद्ध १० जना पत्रकारहरुको स्वास्थ्य बीमाका लागि लाग्ने जनही नगद रु ३ हजार ५ सय शुल्क तिरेर स्वास्थ्य बीमा गरिएको संस्थाका सचिब अमित विश्वकर्माले जानकारी दिए । बुधवार बेनी अस्पताल परिसरमा आयोजित कार्यक्रममा बेनी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर जितेन्द्र कँडेल, स्वास्थ्य बीमा बोर्ड म्याग्दीका कार्यालय प्रमुख उपेन्द्र बराल, बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र सोसाईटीका अध्यक्ष कमल खत्रीले स्वास्थ्य बीमाको परिचयपत्र प्रदान गरेका थिए ।

संस्थाले बिगत तीन बर्षदेखि संस्थामा आबद्ध पत्रकार र उनीहरुका घरपरिवारको समेत स्वास्थ्य उपचारमा सघाउन सामुहिक स्वास्थ्य बीमालाई निरन्तरता दिएको अध्यक्ष खत्रीले बताए । ‘‘नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमाबाट न्यून र मध्ययम आय भएका व्यक्तिहरुको स्वास्थ्य उपचारमा निकै ठुलो राहत मिलेको छ, पत्रकार र उनीहरुका परिवारका सदस्य विरामी पर्दा हुने खर्चलाई बचत गर्न र आर्थिक क्षति कम गर्न संस्थामा आबद्ध पत्रकारहरुलाई सामुहिक स्वास्थ्य बीमा गर्न थालिएको हो, आगामी बर्षमा समेत यसलाई निरन्तरता दिने हाम्रो योजना छ’’–अध्यक्ष खत्रीले भने ।

कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर कँडेलले स्वास्थ्य बीमाको कारण बेनी अस्पतालमा उपचारको लागि आउने विरामीहरुको संख्या बढेको र सोसाईटीले सामूहिक रुपमा गरेको स्वास्थ्य बीमाले यसको महत्वलाई थप व्यापक बनाउन सहयोग पुगेको बताए । बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बिमितहरुमा स्वास्थ्य बीमाबाट जुनसुकै अस्पतालमा जहिलेपनि सबै उपचार र औषधी निशुल्क पाइन्छ भन्ने भ्रम रहेकाले बीमा गराउँदा नै बीमितले पाउने सुविधाबारे स्पष्ट पार्नतर्फ ध्यान दिन आग्रह गरे ।

स्वास्थ्य बीमा बोर्ड म्याग्दीका कार्यालय प्रमुख बरालले जिल्लामा स्वास्थ्य बीमाको प्रचार प्रसारमा पत्रकार र सञ्चारकर्मीहरुले रचनात्मक भूमिका खेलेको बताए । उन्ले जिल्लामा अहीले ९ हजार ५४ घरधुरीका २४ हजार ६ सय २३ जना स्वास्थ्य बीमामा आबद्ध भएको जानकारी गराए । उक्त कार्यक्रममा स्वास्थ्य बीमा दर्ता सहजकर्ता चण्डीका पौडेलले बीमितहरुले अस्पतालबाट प्राप्त गर्नुपर्ने औषधी नपाउने, पोखरा लगायतका अस्पताल जाँदा रेफरमा ढिलाई हुने, अस्पतालका स्वास्थ्यकर्मीबाट दोहोरो व्यवहार हुने, बिदाको दिनमा सेवा नपाउने गुनासा आएको भन्दै ध्यानकर्षण गराएकी थिईन ।
५ जना सम्मको परिवारलाई रु ३ हजार ५ सय शुल्क तिरेर स्वास्थ्य विमा गरेपछि प्रतिपरिवारले बार्षिक रु १ लाख बराबरको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्ने प्रावधान रहेको छ । सोसाईटीले पत्रकार र पत्रकारका घरपरिवारलाई आपत विपत् पर्दा सघाउनका लागि रु २ लाख ५ हजार राशिको अक्षयकोष समेत स्थापना गरेको छ । संस्थाका अध्यक्ष खत्रीको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिब विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




