म्याग्दी १२ पुस । म्याग्दीका पाँच स्थानीय तहबाट २ हजार ६सय जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालय म्याग्दीले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको दर्ता शिविरमा २ हजार ६ सय २ जना नयाँ मतदाताले नामावली दर्ता गरेका छन् ।
निर्वाचन कार्यालयका प्रमुख भिमप्रसाद घिमिरेका अनुसार मङ्सिर १७ गतेदेखि पुस ९ गतेसम्म सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत धवलागिरी २ सय ३२, रघुगंगा २ सय ८९, अन्नपूर्ण ४ सय ६७, मंगला ७ सय ७९ र मालिका गाउँपालिकामा ८ सय ३५ जनाले नाम दर्ता गराएका छन् ।
उनले गाउँपालिकास्तरमा आयोजित मतदाता नामावली संकलनमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला निकायको सहयोगले समेत सहज भएको बताए। एउटा पालिकामा आयोजित दर्ता शिविरमा पुग्न नसकेकाले छिमेकी पालिकासम्म आएर दर्ता गरेकाले समेत रुजु गरेपछि मात्रै पालिकास्तरको बास्तविक मतदाता नामावली सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ ।
यता बेनी नगरपालिका भित्र र अन्य स्थानीय तहमा छुटेकाले निर्वाचनको मिति घोषणाको अघिल्लो दिनसम्म जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा पुगेर समेत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने जनाइएको छ । नयाँ मतदाता नामावलीमा नाम दर्ताका लागि सक्कल नागरिकता, बसाइसराइको प्रमाणपत्र, विवाह दर्ता जस्ता आवश्यक कागजपत्र अनिर्वाय हुन्छ। म्याग्दीमा एक निर्वाचन क्षेत्र रहेको छ। स्थानीय तहमा राखिएको शिविरमा छ्ुटेका ब्यक्तिले निर्वाचन कार्याल र जिल्ला प्रशासन कार्यालयबाट मतदाता बनाउन सकिन्छ ।




