उन्नत जातका बाख्रापालनमा करिव २ करोड लगानी
काेराेला पोस्ट ४ पुस २०७८, आइतबार

म्याग्दी, ४ पुष । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा एक करोड ८० लाख लगानीमा उन्नत जातका बाख्रापालन सुरु गरिएको छ । स्थानीय युवा कृषक अणबहादुर खड्का (भगवान) को अगुवाईमा तीन जनाले सामुहिक रुपमा उन्नत जातका बाख्रापालन गरेका हुन् ।

खड्कासंगै उनका भाईं प्रेम र धवलागिरि गाउँपालिका–७ धारापानीका राजेन्द्र थापाले सामूहिक रुपमा ‘ब्रोदर्स कृषि तथा पशुपंक्षि फार्म’ स्थापना गरि बोयर जातका बाख्रापालन गरेका छन् । सामूहिक रुपमा बाख्रापालन थालेका भगवान सामाजिक कार्यहरुसंगै कृषि पेशामा संलग्न छन् भने प्रेम वैदेशिक रोजगारबाट फर्किएर र थापा भारतीय सेनाबाट अवकास लिएर फर्केपछि पशुपालनमा लागेका छन् ।

रु ३० लाखमा उन्नत जातका माउ बोयर बाख्राहरु खरिद गरि सुरु गरिएको फार्ममा खोर, जग्गा घेराबार, स्याहार गर्नका लागि बसोबासका लागि बनाईएको आवास लगायतको पूर्वाधार निर्माणमा ८५ लाख बढी लगानी भएको फार्मका सञ्चालक खड्काले बताए । उन्का अनुसार, बाख्रापालनकै लागि करिब १५ रोपनी जग्गालाई रु ४५ लाख बढी लगानीमा खरिद गरिएको थियो ।

‘‘जग्गा, बाख्रा , खोर लगायतका संरचनामा अहिलेसम्म १ करोड ८० लाख लगानी भैसकेको छ, उन्नत जातका बाख्राको स्रोत केन्द्र र मासुको लागि बोका उत्पादनको केन्द्र बनाउने गरि बाख्रापालनलाई अघि बढाएका छौँ’’–खड्काले भने । दुई बर्षअघिदेखि नै बाख्रापालनलाई लक्षित गरि १५ रोपनी जग्गामा घाँस खेति गरिएको थियो भने अहिले ४५ रोपनी जग्गा भाडामा लिएर घाँसको व्यवस्थापन गरिएको छ ।

जाडो र गर्मि दुबै मौसमलाई अनुकुल हुने गरि खोरका पूर्वाधार बनाइएको अर्का सञ्चालक प्रेम खड्काले बताए । ‘‘ जाडोमा न्यानो र गर्मिमा सितल हुने गरि खोरका पूर्वाधार बनाएका छौँ, युटुबमा विश्वभरका नमुना बाख्रा फार्मका पूर्वाधार हेरेर त्यसको अधिकतम अनुसरण गरि आफै खोरको पूर्वाधार बनाएका हौँ’’– उनले भने । पाठापाठी सहित अहिले ८७ वटा बाख्राहरु रहेको फार्ममा २ सयको संख्यामा बाख्रा पालन गर्न सक्ने क्षमता बनाइएको छ ।

बाख्राको पाठापाठीलाई दुध खुवाउने प्रयोजनका लागि दुई वटा भैसी र एक गाई समेत पालन गरिएको छ । ५० वटा माउ बाख्रा रहेको फार्ममा ३५ वटाले पाठापाठी जन्माइसकेका छन् । बाख्रापालनलाई लक्षित गरि जैघाँस, खन्यु, काफल, सुपर नेपियर लगायतका घाँस खेति विस्तारलाई समेत प्राथमिकता दिईएको छ । लगानीकर्ताकै परिवारका चार जना र बाहिरका तीन जना गरि ७ जनाले दैनिक रुपमा रोजगार समेत पाएको फार्मका अर्का सञ्चालक राजेन्द्र थापाले जानकारी गराए । फार्मबाट यस बर्ष ३० वटा बोयर क्रस गरि उत्पादन भएका उन्नत जातका पाठी विक्रि गर्ने लक्ष्य राखिएको छ ।