बेनी–जोमसोम कोरला सडकमा पक्की पुल निर्माण धमाधम
काेराेला पोस्ट ३ पुस २०७८, शनिबार


म्याग्दी, ३ पुष । कालीगण्डकी कोरिडोर अन्तरगत बेनी– जोमसोम कोरला सडक योजनामा पक्की पुल धमाधम भएको छ। सडक स्तरोन्नतीसंगै नदी, खोलालाई लक्षित गरेर कालीगण्डकी कोरिडोरमा बेनीदेखि मुस्ताङको कोरला नाकामसम्ममा निर्माणधिन रहेको दुई दर्जन पुलमध्ये ८ वटा पुल निर्माण सम्पन्न भएका छन् ।

कालीगण्डकी करिडोर बेनी–जोमसोम– कोरला सडक योजना अन्तरगत म्याग्दी खण्डको रघुगंगा नदीमा ४० मिटरको गलेश्वर राहुघाट पुल निर्माण सम्पन्न भएको छ । ६ करोड ८७ लाखमा शर्मा गजुरमुखीले ठेक्का लिएर निर्माण सम्पन्न गरेको छ । त्यस्तै अन्नपुर्ण गाउँपालिका– ३ स्थित दानाको घट्टेखोलामा ५ करोड ८७ लाखमा ४० मिटरको पुल निर्माण गरेको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए । उनले कोरिडोर अन्तरगत पुल विभागले कालीगण्डकी नदी माथि रघुगंगा र अन्नपुर्ण गाउँपालिकाको सिमान स्थित महभरि र पोखरेबगरमा दुई वटा पक्की पुल निर्माण सम्पन्न गरेको बताए ।

मुस्ताङ खण्डमा लेते खोलामा पुल निर्माण सम्पन्न भएको छ । गजुरमुखीले ४० करोड २० लाखमा निर्माण कार्य सकेको पक्की पुल हस्तान्तरणको काममात्र बाकी रहेको छ। त्यस्तै मुस्ताङको घरपझोङ गाउँपालिकाको स्याङखोलामा निर्माण भएको ११५ मिटर लामो मोटरेबल पुल मुक्तिनाथा श्री गिता जेभी कम्पनीले १० करोड ५२ लाखमा निर्माण सम्पन्न गरेको छ। पाण्डाखोलामा ५० मिटरको ४ करोड ३७ लाखमा निर्माण सम्पन्न गरेको छ । कागबेनीमा २५ मिटरको पुल गलुवा रफिना जेभि कम्पनीले पुल निर्माण सम्पन्न गरेको छ। २ करोड ८८ लाखमा लिएको पुल अन्तिम चरण पु¥याएको छ।

म्याग्दी अन्तरगत रुप्से झरनास्थित निर्माणधिन अवस्थामा रहेको ३५ मिटरको पुल र घासाँस्थित खहरेखोलामा निर्माणधिन पुल बाढीले बगाएपछि पुल बन्ने वा नवन्ने एकिन नभएको योजना प्रमुख जगत प्रजापतिले बताए । मुस्ताङ अन्तरगत कैकुखोलामा २० मिटरको पक्की पुल निमाण जिम्मा गणपति निर्माण सेवाले लिएको छ। ३ करोड २५ लाखमा निर्माणधिन पुलको प्रगति २५ प्रतिशत रहेको छ। त्यस्तै छटाङ खोलामा ८० मिटरको पक्की पुल निर्माणका जिम्मा कालीका गजुरमुखीले लिएको छ। उक्त पुल ७ करोड ४४ लाख ठेक्का सम्झौता भएको प्रगति ६० प्रतिशत रहेको छ ।
कोवाङस्थित लाजुङखोलामा २० मिटरेको पुल निर्माणधिन छ । ३ करोड २९ लाखमा गणपति निर्माण सेवाले लिएको उक्त पुलको भौतिक प्रगति ५५ प्रतिशत रहेको छ। त्यस्तै बर्षातमा यात्रुलाई सताईरहने मार्फाखोलामा पुल निर्माण ढिलासुस्ती भएको छ। १२० मिटर लामो पुल निर्माणका लागि २१ करोड ६० लाखमा दिमदुङ एण्ड ठोक्कर इमोटल कन्ट्रक्सन जेभिले निर्माणको जिम्मा लिएको पुलको प्रगति ५० प्रतिशत रहेको योजना प्रमुख पराजुलीले जानकारी दिए । कालीगण्डकी नदीमा थप ५० मिटर पुल बनाउनका लागि प्रस्ताव आयोजनाले बढाएको छ।

त्यस्तै उपल्लो मुस्ताङको समरखोला र झो खोलामा पुल बनाउन प्रस्ताव गरिएको छ । घमी खोलामा ८ करोड ८७ लाखमा हिन्दुङ एण्डक ठोक्कर इमोटल जेभिले जिम्मा लिएको पक्की पुलेको भौतिक प्रगति ४० प्रतिशत रहेको छ। चराङखोलामा ८० मिटर लामो पुल १० करोड ८ लाखमा काष्ठमाण्डप निर्माण कन्ट्रक्सन पाइभेटले जिम्मा लिएको पुलको प्रगति ५५ प्रतिशत पु¥याएको छ।

त्यस्तै मुस्ताङका प्रतिनिधि सभाका सदस्य प्रेम तुलाचनको संचालक रहेको मुुक्तिनाथ अमित जेभिको नामबाट चार वटा पुल निर्माणकोे जिम्मा लिएको छ । उनले लिएको ४ वटा पुलको भौतिक प्रगति ४० प्रतिशत भन्दा माथि पुगेको छैन् । लोमाथाङखोलामा २० मिटर लामो पुल ४ करोड ८ लाखमा जिम्मा लिएको पुलको प्रगति ३० प्रतिशत रहेको छ। किमलिङ खोलामा ५० मिटर लामो पक्की पुल निर्माणका लागि ६ करोड ३० लाखमा लिएको पुलको प्रगति ४० प्रतिशत रहेको छ । नेसुङ खोलामा ६ करोड ३५ लाखमा निर्माणधिन रहेको ५० मिटर लामो पुलको भौतिक प्रगति ४५ प्रतिशत रहेको छ। भमोखोलामा ६ करोड ४५ लाखमा ४० मिटर लामो निमार्णधिन पुलको प्रगति ४० प्रतिशत रहेको छ । एक दर्जनभन्दा बढी पुलमा निर्माण ब्यवसायीको लापरबाही र राजनीतिक दलको संरक्षणले पटकपटक म्याद थपेर काम गराउदा पनि निर्माण कम्पनीले योजना सफल बनाउन बेवास्ता गरेको देखिन्छ ।

पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हुदै जोमसोम कोरला नाकासम्म २ सय किलोमिटर सडक र पुल लगायतको पुर्वाधार निर्माण गर्न ७ अर्व २७ करोड रुपैया ठेक्का सम्झौता मध्ये ४ अर्व ७३ करोड रकम भुक्तानी भएको योजना प्रमुख जगत प्रजापतिले जानकारी दिए । म्याग्दी मुस्ताङको लेते पुग्दा सडकमा लोभलाग्दो विकास देख्न सकिन्छ । विभिन्न ठाउँमा पुल निर्माण भएपछि मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई केही सहज भएको छ।