म्याग्दी, ३ पुस । पारिवारीक निजी वन संघ रघुंगगा गाउँपालिका अध्यक्षमा धनबहादुर भण्डारी चयन भएका छन् । पर्यटकियस्थल रघुगंगा गाउँपालिका वडा नम्बर २ रुईसे स्थित शिव भ्यालीमा सम्पन्न पालिका स्तरीय निजी किसानहरुको भेलाबाट भण्डारी सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । उपाध्यक्षमा रमाकुमारी कटुवाल, सचिवमा राजकुमार भण्डारी, सहसचिवमा राजकुमारी गर्बुजा, कोषाध्यक्षमा डम्मरकुमारी मल्ल चयन भएको पारिवारीक निजी वन संघ म्याग्दी शाखाका सचिव रश्मी बानियाँले जानकारी दिईन ।
संघको सदस्यहरुमा ध्रुव सुवेदी, ओमकुमारी शाही, बोमाया पुन, अम्मरबहादुर खत्री, लिलबहादुर पुन र देव छन्त्याल चयन भएका छन् । भेलामा गण्डकी प्रदेश सदस्य सांसद विनोद केसीले केसीले प्रदेश सरकारले वन ऐन निर्माण गर्न लागेको बताए । उनले पारिवारीक निजी वन संघको माग सम्बोधनका लागि आफुले पहल गर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले पारिवारीक निजी वन संघलाई जिल्लाका सबै स्थानीय तहमा विस्तार गरी संघको निति ,कार्यक्रम र उद्धेश्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा पारिवारीक निजि वन संघ म्याग्दी शाखाका अध्यक्ष रेशम बहादुर बानियाँले रघुगंगा र मालिकामा पालिका स्तरीय समिति गठन गरिएको जानकारी गराउदै जिल्लाका सबै पालिकामा विस्तार गर्ने योजना सुनाए । वन ऐनका कारण किसानहरुले आफ्नो निजी स्वामित्वमा रहेको वनबाट उत्पादित बस्तुहरु विक्री वितरण गरी जिविकोपार्जन गर्नबाट बञ्चित हुनुपरेको बानियाँले भने । म्याग्दीमा १०४ जना पारिवारीक निजी वन संघ म्याग्दीमा आवद्ध छन् ।
कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सहसचिव सिता गुरुङ, पारिवारीक निजि वन संघ म्याग्दीका कोषाध्यक्ष तथा केन्द्रीय न्यायीक समिति सदस्य रामबहादुर शाही, केन्द्रीय सदस्य रुमदेबी घर्ती मगर, वडा अध्यक्ष रिमबहादुर कटुवाल लगायतको सहभागिता रहेको थियो ।




