मुस्ताङ, ३ पुष । सूचना तथा प्रशारण बिभागको आयोजनामा दुर्गम हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा शुक्रबार घुम्ति शिबिर सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासँगको सहकार्यमा आयोजना भएको शिबिर दुई दिनसम्म सञ्चालन भएको थियो । शिबिरमा पत्रकार परिचयपत्र र अनलाइन सञ्चार माध्यमको दर्ता प्रमाणपत्र बितरण र नबिकरण सेवा दिइएको सूचना बिभागका शाखा अधिकृत बसन्तबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार १३ जनालाई पत्रकार परिचयपत्र (प्रेस पास) बितरण, सात वटा पत्रकार परिचयपत्र नबिकरण र एक वटा प्रेस पास प्रतिलिपी जारी भएको छ । यसैगरी म्याग्दीका तीन र मुस्ताङका चार वटा नयाँ अनलाइन सञ्चार माध्यम दर्ता भएका छन् ।
म्याग्दीबाट सञ्चालन हुने तीन वटा अनलाइन नबिकरण भएको छ । हिमाली जिल्ला मुस्ताङ र म्याग्दीका २३ जना पत्रकारहरुलाई क्षमता अभिबृद्धी तालिम दिइएको छ । हिमाली, दुर्गम र पिछडिएको क्षेत्रका पत्रकारहरुलाई जिल्लामै पुगेर सेवा दिइएको शाखा अधिकृत खत्रीले बताए । प्रशिक्षक डा.बिजय मिश्रले तालिमको सहजिकरण गरेका थिए ।
सूचना तथा प्रशारण बिभागका महानिर्देशक गोगनबहादुर हमाल, अधिकृत खत्री, नायब सुब्बा दिनेश पाण्डे, कम्प्युटर अधिकृत सुवास राईको टोलीले घुम्ति शिबिरमा सेवा दिएको थियो ।




