पिप्ले-भगवती सडक अनुगमन : निर्माण कार्यमा जनशक्ति थप गर्न सरोकारवालाहरुले दबाब
काेराेला पोस्ट १७ मंसिर २०७८, शुक्रबार


म्याग्दी, १७ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले-भगवती कालोपत्रे सडक अन्तर्गत पिप्ले भगवती खण्डको कालोपत्रे काम समयमै सक्न सरोकारवालाहरुले दवाब बढाएका छन् ।


अनुगमन टोलीले निर्माण कम्पनीलाई जनशक्ति थप गरेर चैत मसान्तसम्म काम सम्पन्न गर्न दवाव दिएको हो । गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुुख देवेन्द्र बहादुर केसी, वडा नम्बर २ का अध्यक्ष रिम कटुवाल, नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारी , पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्याल लगायतको टोलीले स्थलगत अनुगमन गरेको थियो ।
निर्माण कार्यमा प्रयोग हुने बालुवा, सिमेन्ट लगायतका निर्माण सामाग्रीमा गुणस्तरमा ध्यान दिन निर्माण कम्पनीलाई ध्यानकर्षण गराएको वडा अध्यक्ष कटुवालले जानकारी दिए । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स-खड्का कृष्ण जे.भीले गत जेठमै योजनालाई सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म जम्मा ५० प्रतिशत भौतिक प्रगति भएको छ । गलेश्वरदेखि बगैँचासम्मको पहिलेको ट्याकमा पहिरोले क्षति पुर्‍याएकाले पहिलो चरणमा पिप्लेदेखि भगवतीसम्मको ५ किलोमिटर सडकलाई कालोपत्रे गर्न कार्यालयले निर्माण कम्पनिलाई ताकेता गरेको छ ।

दुई साताअघि जिल्ला प्रशासन कार्यालयमा बैठक राखेर निर्माण कम्पनीहरुलाई अधुरा रहेका योजनालाई गति प्रदान गर्न निर्देशन दिएको अवस्थामा अहिले निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किएर काम सुरु गरेको तर आबश्यक मात्रामा जनशक्ति परिचालन नगरेको कारण स्थलगत निरिक्षण गरिएको गण्डकी प्रदेश सभा सदस्य केसीले बताए । निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किएको छ, तर कामलाई गति प्रदान गर्न अझै सकेको छैन, हिउँदयाममा समेत ढिलासुस्ती हुँदा थप भएको समयमा समेत योजना सम्पन्न नहुने जोखिम रहेकाले सम्बद्ध निर्माण कम्पनि र कार्यालयलाई समेत त्यसतर्फ ध्यानकर्षण गराएका छौ- केसीले भने । पिप्लेदेखि भगवती सम्मको सडक फराकिलो बनाउने, र पर्खाल लगाउने काम अधिकाँश सकेर नाली निर्माणको काम भैरहेको छ ।

पटक – पटकको ताकेतापछि कार्यक्षेत्रमा आएको निर्माण कम्पनीले आगामी चैतभित्र पिप्लेदेखि भगवतीसम्मको सडकलाई कालोपत्रे सम्पन्न गर्नुपर्ने कार्यालयका प्रमुख सन्तोष अर्यालले दिए । असारदेखि काम रोकिएको थियो, दुई सातादेखि निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किएको छ, अहिले नालि बनाउने काम गरिरहेको छ, सबबेस र बेस राख्नको लागि नमुना परिक्षणमा छौ- अर्याले भने । नाली निर्माणको काम एक महिनाभित्र सम्पन्न गर्ने र बेस र सबबेसको काम सकेर तापक्रम अनुकुल हुनेवित्तिकै कालोपत्रेको काम सुरु गर्ने तयारी भएको निर्माण कम्पनीका इन्जीनियर रामु कँडेलले दिए ।उनले कार्यक्षेत्रमा ६० जनासम्म जनशक्ति परिचालन गरेको जानकारी दिए ।
भ्याट सहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता भएको यस योजनामा ८ किलोमिटर सडकलाई ८ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्रे गर्नुपर्ने उल्लेख छ ।