गण्डकीमा प्रदेशमा दुई मुख्यमन्त्री बनेका छन् । यो प्रदेशमा पृथ्वी सुव्वा गुरुङ र कृष्णचन्द्र पोखरेल नेपाली मुख्यमन्त्री बनेका हुन् । झण्डै साढे तीन बर्ष सरकारको नेतृत्व गरेका गुरुङले यो प्रदेशमा ८ जना मन्त्री बनाए । तर हालका मुख्यमन्त्री नेपालीले भने १२ सदस्यीय मन्त्रीमण्डल बनाएका छन् ।
गुरुङ नेतृत्वको सरकारमा खेलकुद मन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङे) मात्र पोखरेल नेतृत्वको सरकारमा दोहोरिएर मन्त्री बनेका छन् । यसरी हेर्दा हालसम्म यो प्रदेशमा दोहोरिएका नगन्दा १९ जना मन्त्री भएका छन् । २०७४ फागुनमा मुख्यमन्त्री बनेका गुरुङले सुरुमा ७ सदस्यीय मन्त्रीमण्डल बनाएका थिए । जसमा किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल, नरदेवी पुन, हरिबहादुर चुमान, लेख बहादुर थापा मगर रहेका थिए ।
पछि मुख्यमन्त्री गुरुङले मन्त्रालय फुटाएर खेलकुद मन्त्रीमा राजीव गुरुङ (दीपक मनाङे) लाई नियुक्त गरेका थिए ।
२०७७ जेठमा गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीका रुपमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि उनले काँग्रेसका तर्फबाट कुमार खड्का, मेखलाल श्रेष्ठ, मणिभद्र शर्मा कँडेल, विन्दु कुमार थापा र दोवाटे विश्वकर्मालाई मन्त्री बनाए । त्यसैगरी माओवादीका तर्फबाट रामजी प्रसाद बराल, मधुमाया अधिकारी गुरुङ, चन्द्र बहादुर बुढा र दीपक थापालाई मन्त्री बनाए भने जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्रबाट दीपक मनाङेलाई मन्त्री बनाए ।
२०७४ माघ ३ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले गण्डकीमा बाबुराम कुँवरलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । त्यसपछि २०७६ कात्तिकमा केपी ओली सरकारले उनलाई हटाएर अमिक शेरचनलाई पठायो । गत बैशाख २० मा शेरचनलाई हटाएर सीताकुमारी पौडेल प्रदेश प्रमुख नियुक्त भइन् । नयाँ सरकार बनेसँगै पौडेललाई हटाएर देउवा नेतृत्वको सरकारले गत साउनमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुखका रुपमा पठायो । हाल उनै गुरुङ प्रदेश प्रमुखको जिम्मेवारीमा छन् । ratopati.com




