म्याग्दी, ५ कात्तिक । नेपाल कम्यूनिष्ट पार्टी एमाले म्याग्दीको शनिबारदेखि हुने वडा र पालिका अधिवेशन रौनक बढेको छ। एमाले म्याग्दीमा कात्तिक ६, ७ र ८ गते वडा र ९ गते पालिकास्तरको अधिवेशनको मिति तोकेपछि स्थानीय स्तरमा नेता तथा कार्यकर्ताहरुमा आगामी नेतृत्वको लागी बहस, छलफल सुरु भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी एमाले म्याग्दीले तीन दिनमा जिल्लाको ६ स्थानीय तहमा रहेका ४५ वटै वडामा वडा अधिवेशन गर्ने कार्यतालिका रहेको जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वडा अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिब, दुई सहसचिब सहित ३१ सदस्यीय वडा कमिटी निर्वाचित हुनेछन् । त्यसैगरि पालिका स्तरको कमिटीमा ५ पदाधिकारी सहित ७५ जनासम्मको कमिटी चयन हुनेछ । एमाले म्याग्दीको ३ हजार एक सय पार्टी सदस्यहरुले अधिवेशनमा भाग लिनेछन् ।
वडा र पालिका अधिवेशनलाई सफल बनाउन जिल्ला सचिबालय बैठकले जिल्ला स्तरका नेता हरुलाई वडा र पालिका अधिवेशनमा जिम्मेवारी सहित निर्वाचन अधिकृतको रुपमा खटाउने निणर्य गरेको जिल्ला अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । एमाले म्याग्दीका अनुसार, ९ गते बेनी नगरपालिका सहित चार गाउँपालिकाको अधिवेशन हुने र अन्नपूणर् गाउँपालिकाको अधिवेशनको समय तालिका भने फेरबदल हुनसक्ने जनाइएको छ ।
पत्रकार सम्मेलनमा प्रदेश कमिटी सदस्य खुमबहादुर बानियाँ, सचिव बालकृष्ण सुवेदी, सचिबालय सदस्य सन्तोष रावल, बेनी नगरकमिटीका अध्यक्ष प्रमोद श्रेष्ठ, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, प्रेस चौतारी म्याग्दीकी अध्यक्ष मालती खत्री लगायतको उपस्थित रहेको थियो ।




