भगवती, ३० असोज । म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवती स्थित ऐतिहासिक भगवती कोतमा बडादसैंको नवमीका दिन बली दिईने सरकारी राँगो जसले बढी रकम तिर्छ उसैलाई मार हान्ने चलन छ। यस वर्ष बढीबढाउ गर्दा सबैभन्दा बढी रकम तीन लाख रुपैयाँ बोलेर बयरी डिलका आर्यन खड्काले सरकारी राँगो मार हानेका हुन् ।

‘आँटेको र चाहेको पुरा हुने भएपछि हरेक वर्ष बढीबढाउमा भाग लिनेहरु बढ्दै गएका छन्,’ पूजा व्यवस्थापन समितिका अध्यक्ष मल्लले भने, ‘बढीबढाउका क्रममा सरकारी मार हान्ने रकम बढ्दै गएको छ।’ खड्काले अष्टमीकै साँझ रकम बुझाएर नवमीका दिन सफल पुर्वक मार हानेका थिए। उनलाई गाउँलेले टाउकोमा फेता र बाजागाजासहित सम्मान गरेका थिए। यसअघि २०७६ को नवमीमा दुई लाख ८८ हजार कबोलेर सरकारी राँगोको मार हानेका थिए।
मार हान्नेले तिर्ने रकम पूजा व्यवस्थापनमा खर्च गरेर बचेमा कोषमा राख्ने गरिएको छ। म्याग्दीको प्रमुख शक्तिपीठ भगवती कोतमा मार हान्नेलाई स्थानीयले प्रतिष्ठित मान्ने गर्छन्। युवाहरुले आफ्नो पहिचान बनाउन र समाजमा स्थापित हुनका लागि भगवती कोतको सरकारी मार हान्न लाखौँ तिर्न तयार भएका हुन्। मार हान्ने व्यक्तिको मनोकाक्षा समेत पुरा हुने जनविश्वास छ।
कोरोना भाइरसको महामारीका कारण २०७७ को बडादसैंमा औपचारिक पुजाआजा गरिएको भगवती कोतमा यस वर्षको दसैँमा भक्तजनको भीड लागेको थियो। पुरातत्व विभागले हालै ६९ लाख रुपैयाँ खर्चेर भगवती कोतको पुननिर्माण गरेको थियो।




