म्याग्दी २४ असोज । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोनाको) चौथो महाधिवेशन बेनीमा हुने भएको छ। मोना अन्तराष्ट्रिय कार्यकारी समितिको नयाँ नेतृत्व चयनका लागि हुने चौथो महाधिवेशन आगामी कात्तिक २ र ३ गते सदरमुकाम बेनीमा आयोजना गरिएको हो ।
मोनाले अहिलेसम्म २९ देशमा राष्ट्रिय कार्यकारी समितिको शाखा विस्तार गरिसकेको छ । सदरमुकाम बेनीमा हुने महाधिवेशनमा राष्ट्रिय कार्यकारी समितिको शाखाहरुबाट चुनिएका प्रतिनिधिहरुले भाग लिनेछन् । महाधिवेशनका लागि हल व्यवस्थापन, प्रतिनिधिको बसोबास, अतिथिलाई पत्राचार र प्रचार प्रसारका कामलाई तीव्रता दिईएको मोना अन्तराष्ट्रियका अध्यक्ष ओम नारायण जुग्जालीले जानकारी दिए ।
कोरोना महामारीको जोखिमका कारण कतिपय देशमा रहेका मोनाका शाखा मार्फत प्रतिनिधिहरु आउन सम्भव नभएपछि भौतिक र अनलाइन मार्फत सहभागीता जनाउन पाउने गरि प्रवन्ध मिलाईएको अध्यक्ष जुग्जालीले बताए । महाधिवेशनमा २६१ जनाले सहभागीता जनाउने महाधिवेशन संयोजक मिम पुर्जाले जानकारी दिए ।
महाधिवेशनबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व समेत चयन हुनेछ । उद्घाटनको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको र्याली समेत आयोजना गरिने जनाइएको छ ।




