म्याग्दी ९ असोज । नेपाली काँग्रेस म्याग्दीको असोज ९ गते शनिबार नगरपालिकासहित पाचँ गाउँपालिकाको नेतृत्वका लागि हुने पालिका अधिवेशन तयारी पुरा भएको छ । पालिकाको अधिवेशनमा नेतृत्वको होडबाजीमा कांग्रेसका नेताहरु सहमतिको लािग छलफलमा लागि परेका छन् । सहमति नभए दुई समूहको प्रतिस्पर्धा हुने भएको छ ।
बेनीमा विक्रम बोगटी र रविन्द्र कार्कीले दुई छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका छन् । कार्कीलाई गर्वुजा र बोगटीलाई बानियाँ पक्षको समर्थन रहेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा पक्ष मानिने जिल्ला सभापति खमवीर गर्वुजा र बरिष्ठ नेता रामचन्द्र पौडेल निकटका पूर्व जिल्ला सभापति रेशमबहादुर बानियाँ पक्षबाट पालिका अधिवेशनमा नै छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।
त्यसैगरि रघुगंगा गाउँपालिकाको नेतृत्वमा समेत दुई पक्षबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । गर्वुजा पक्षबाट वडा नम्बर ६ पाखापानीका वडा अध्यक्ष एवम् युवा नेता मनकुमार शेरपुञ्जा र बानियाँ पक्षबाट गाउँपालिका अध्यक्ष समेत रहेका भबबहादुर भण्डारी सभापतीको प्रतिस्पर्धामा छन् । रघुगंगामा वडा नम्बर ३ का वडा अध्यक्ष एवम् काँग्रेसको वर्तमान पालिका सभापति जीवनकुमार मल्ल समेत नेतृत्वको लागि आकाँक्षी देखिएको कार्यकताले बताएका छन् । यद्यपी मल्लले आन्तरिक रुपमा शेरपुञ्जालाई समर्थन जनाउने स्रोतले जनाएको छ ।
अन्नपूणर् गाउँपालिकाको सभापतिमा समेत दुईपक्षबिच नै प्रतिस्पर्धा हुने देखिएको छ । बानियाँ पक्षबाट वडा नम्बर ६ का वडा अध्यक्ष समेत रहनुभएका कृष्णप्रसाद बरुवालले औपचारिक रुपमा सभापतिको उम्मेदवारी घोषणा भएको छ । भने गर्वुजा पक्षको समर्थनमा वडा नम्बर ५ का कार्यबहाक वडा अध्यक्ष राजेश तिलिजालाई सभापति उम्मेद्वार रहेको छन् । सभापतिका उम्मेद्वार तिलिजाले पालिका नेतृत्वको लागि आफुले तयारी थालेको बताए ।
क्षेत्र नम्वर ख अन्तरगत मंगला, मालिका र धवलागिरि गाउँपालिकामा भने सर्वसम्मत रुपमा नेतृत्व चयन गरेका छन् । जसमा मंगलामा नरसिंह केसी, मालिकामा खिम पुन र धवलागिरिमा प्रेम पुनलाई सर्वसम्मत सभापति चयन गरिएपनि घोषणा गर्न बाकी रहेको छ ।




