म्याग्दी, ६ असोज । नेकपा माओवादी केन्द्र म्याग्दीका नेता कार्यकर्ताहरु संगठन बिस्तार अभियान लिएर वडास्तरको गाउँ-गाउँमा पुगेका छन् । संगठन सुदृढिकरणका लागि तल्लो तहका शुभचिन्तक, कार्यकर्ता भेटघाट, सदस्यता नबिकरण, प्रशिक्षण र राजनीतिक परिस्थतिका बिषयमा पार्टीको धारणा बुझाउन नेताहरुले टोल अभियानमा जुटेका हुन् ।
शक्ति र बिचारमा पार्टीलाई बलियो बनाउन माओवादीले जिल्लाब्यापी सदस्यता नबिकरण, पार्टी र जनबर्गिय संगठन पुर्नगठनसँगै कार्यकर्ता र जनपरिचालनमा जोड दिएर अभियानमा जुटेको जिल्ला इञ्चार्ज गोबिन्द पौडेलले बताए । “संघीयता, समावेशी, गणतन्त्र, संबिधान जस्ता राजनीतिक उपलब्धी माओवादी आन्दोलनबाट प्राप्त भएको सन्देश लिएर टोल टोलमा पुग्ने कार्यक्रम बनाएका छौ,” उनले भने । कार्यकर्ताहरुको भावना, बिचार, अपेक्षा र गुनासो सुन्ने, समस्या सम्बोधन गर्ने अवसरका रुपमा पनि यो अभियानलाई लिएको धारण ब्यक्त गरे ।
अभियानका क्रममा जनयुद्धमा सहभागी नेता, कार्यकर्ता, सहिद परिवार र शुभचिन्तकहरुलाई भेट्नुका साथै संगठनमा जोडेर सक्रिय बनाउने नीति लिएका छन् । नेकपा माओबादी केन्द्र केन्द्रिय कमिटिले जिल्ला संयोजकमा युवा नेता रेशम जुग्जालीलाई संयोजक जिम्मेवारी दिएपछि एक नगरपालिका र पाचँ गाउँपालिका रहेको म्याग्दीमा पाटीका नेताहरु र निकट संगठनका नेताहरु गाउँ-गाउँमा पुगेर वडा र टोलस्तरमा संगठन विस्तारलाई ध्यान दिएको बेनी नगरकमिटी अध्यक्ष शेरबहादुर केसीले बताए ।
नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जाली (सुविन)ले जिल्लाका सबै स्थानीय तहमा पार्टी संगठन निर्माणमा जुटेका छौँ, सबै उत्साहि भएर लागेको बताए । माओवादी जनयुद्धले स्थापित गरेका एजेण्डाहरु गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्व लगायतका माओवादीको कमीकमजोरीको आत्मआलोचना गर्दै संगठन निर्माणमा नेताहरु गाउँगाउँमा खटिएको बताए । संयोजक जुग्जालीले संगठनलाई सुदृढीकरण गर्दै आगामी स्थानीय तह निर्वाचनको तयारीमा गर्दै जनताहरुको घरदैलोमा पाटीको नेताहरु पुग्ने क्रम जारी रहेको बताए ।




