नेकपा (एकिकृत समाजवादी) म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा
काेराेला पोस्ट ३० भदौ २०७८, बुधबार


म्याग्दी ३० भदौ । नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा चयन भएका छन् । बुधवार बेनीमा आयोजित पार्टीको जिल्ला भेलाबाट युवा नेता विश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।

युवा संघ गण्डकी प्रदेशको इन्चार्ज रहेका विश्वकर्मा बेनी नगर कार्यपालिकाको सदस्य रहेका छन् । त्यसैगरि कमिटीको उपाध्यक्षमा हेमराज शर्मा, सचिबमा दुर्गा कार्की, सहसचिबमा जिवन सापकोटालाई चयन गरिएको छ । नेकपा एमाले विभाजन भएपछि म्याग्दीमा तीन जनप्रतिनिधिले एकिकृत समाजवादीमा सनाखत गरेपछि जिल्ला भेला तथा कमिटी गठनको प्रयास थालिएको थियो ।
नवनिर्वाचित अध्यक्ष विश्वकर्माले ६ महिनाभित्र जिल्लामा संगठन निर्माण र विस्तारको अभियान चलाउने कार्यतालिका बनाएको बताउँदै पार्टीलाई छोटो समयमै गतिशिल बनाउन आफु प्रयासरत रहने प्रतिबद्धता जनाए ।
उनले केपी ओलीले एमाले विभाजन संगै कम्युनिष्ट आन्दोलन र प्राप्त उपलब्धीहरु मास्न उद्धत रहेकाले पार्टीको पुनर्गठन गर्नुपरेको बताए ।