म्याग्दी, २० साउन । म्याग्दीमा सवारीसाधन कारबाहीबाट तिस लाख ७३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ । गत आर्थिक बर्ष २०७७/०७८ मा जिल्ला ट्राफिक कार्यालयले चार हजार ८५० सवारी साधन कारबाहीबाट सो रकमको राजश्व संकलन भएको हो ।
ट्राफिक नियम विपरित टेक्टर, मोटसाईकल, जीप, कार, बस, ट्रक लगायतको सवारीसाधन चलाउनेलाई कारबाही गरिएको प्रहरी हवल्दार बैकुण्ड पौडेलले जानकारी दिए । ट्राफिक कार्यालयले एक हजार ७८९ जिप कार सवारीसाधन कारबाहीबाट १० लाख २९ हजार ५०० रुपैया राजश्व संकलन भएको थियो । १९५ वटा बस कारबाहीबाट एक लाख ५ हजार ५ सय रुपैया, ९५६ ट्याक्टर कारबाहीबाट ६ लाख ३९ हजार ५०० रुपैया, एकहजार २१५ मोटरसाइकल कारबाहीबाट ८ लाख ८४ हजार ५०० रुपैया राजश्व संकलन भएको हवल्दार पौडेलले बताए ।
गत आर्थिक बर्ष २०७७/०७८ मा जिल्लामा १२ वटा सवारीसाधन दुर्घटना हुदाँ ८ जनाको निधन भएको थियो भने २६ जना गम्भिर घाईते भएको कार्यालयले जनाएको छ। त्यस्तै ट्राफिक नियम सम्वन्धी विद्यार्थी, ब्यवसायी, चालक, चह–चालक र सर्वसाधारणलाई १६३ वटा कार्यक्रम गरिएको ट्राफिक हवल्दार पौडेलले बताए । त्यस्तै मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ११९ जनालाई कारबाही गरिएको छ।
ट्राफिक नियम विपरित चलाउने सवारीसाधनलाई कारबाही गर्दा आव ०७४/०७५ मा रु ५७ लाख ६७ हजार ५००, ०७/०७६ मा ४१ लाख ९३ हजार ५००, ०७६/०७७ मा २२ लाख ९ हजार ५०० रुपैया राजश्व संकलन भएको थियो । कोरोनासंगै लगडाउनले पछिल्लो दुई आर्थिक बर्षमा राजश्व संकलनमा गिरावट आएको छ ।
लाइसन्सविहिन सवारीसाधन चलाउने, हेलमेट नलगाउने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने, क्षमताभन्दा बढी सामानहरु बोक्ने, कागजपत्र साथमा नलिई सवारीसाधन चलाउने, सदरमुकाममा जथाभावि पार्किङ, अनुमति नभएको रातो पेलेटको सवारीसाधनले यात्रु बोकेमा कारबाही गरिएको कार्यालयले जनाएको छ । नियम विपरित सवारीसाधन चलाउनेलाई ५ सय देखि एक हजार ५ सय रुपैयासम्म जरिवाना गरिएको कार्यालयले जनाएको छ ।




