म्याग्दी, २५ असार । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले सञ्चालन गर्न लागेको मिडिया सेन्टरलाई जिल्लाका स्थानीय तहले विभिन्न सामाग्रीहरु सहयोग गरेका छन् । म्याग्दीका ६ वटा स्थानीय तहहरुले रु. तीन लाख ६० हजार मूल्य बराबरका सामग्री खरिद गरेर उपलब्ध गराएका हुन् ।
नागरिकले आफ्ना गुनासा, समस्या मिडिया सेन्टरको सहजिकरणमा पत्रकार र सञ्चारमाध्यमबाट सार्वजनिक गर्न, सरोकारवालाहरुलाई पत्रकार तथा सञ्चारकर्मीसँग समन्वय गर्न मिडिया सेन्टर सञ्चालन गर्न लागिएको शाखा अध्यक्ष प्रकाश पौडेलले बताए ।
बेनी नगरपालिकाले खरिद गरेका रु. एक लाख मूल्य बराबरका सामग्री शुक्रबार नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदी लगायतले शाखा सचिब सन्तोष गौतम र कार्यसमिति सदस्य जेनिसा पुरीलाई हस्तान्तरण गरेका हुन्
महासंघको भवन निर्माणका लागि चार आना जग्गा भाडामा दिएको नगरपालिकाले मिडिया सेन्टर स्थापना गर्न एक थान इन्भटर, एक थान ब्याट्री, इन्टरनेट र टेलिफोन जडानका साथै फर्निचर सम्बन्धी सामग्री उपलब्ध गराएको हो ।
रघुगंगा गाउँपालिकाले रु. असी हजार मूल्य बराबरको एक सेट ब्रान्डेड कम्प्युटर, मंगला गाउँपालिकाले रु. साठी हजार बराबरको सोफा सेट लगायत फर्निचर, अन्नपूणर् गाउँपालिकाले रु. पचास हजार बराबरको एक वटा प्रिन्टर र एक वटा कुर्ची, धवलागिरी गाउँपालिकाले रु. चालिस हजार बराबरको एक थान कुर्चि र एक थान टेबल, मालिका गाउँपालिकाले रु. तीस हजार बराबरको एक थान दराज उपलब्ध गराएको छ ।
कोरोनाको जोखिममा समाचार संकलनमा खटिएका पत्रकारहरुका लागि मास्क, स्यानीटाइजर लगायत स्वास्थ्य सुरक्षाका सामग्री बितरण गरेको थियो । शाखाले नगरपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माणका लागि स्रोत जुटाउन र प्राबिधिक काम अघि बढाएको उपाध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिए ।




