वायु प्रदुषणले चार दिनसम्म शैक्षिक संस्था बन्द
काेराेला पोस्ट १६ चैत्र २०७७, सोमबार


म्याग्दी, १६ चैत । केही दिनदेखि जारी वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द गर्ने निणर्य गरेको छ ।

शिक्षा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले यस्तो निणर्य गरेको हो । चैत १७ गते मंगलबारदेखि २० गतेसम्म शैक्षिक संस्था बन्द गरिने छ । केही दिनदेखि तुवाँलोको कारण म्याग्दी लगायतका स्थानमा वायु प्रदुषण बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित बनेको छ । जनस्वास्थ्यका लागि हानिकारक हुने भएकाले केही दिन स्कुल-कलेज बन्द गरेर विद्यार्थीहरुको स्वास्थलाई सुरक्षित राख्न यस्तो निणर्य गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

देशभर विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म करिब ७० लाख भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । देशका कैयौँ भेगमा फैलिएको वायु प्रदुषण र तुवाँलो तत्काल हट्ने सम्भावना नरहेको विज्ञहरूले बताएपछि सरकारले यो निणर्य गरेको हो।

वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैलाई सावधानी अपनाउन अपिल गरिसकेको छ। मन्त्रालयले सर्वसाधारणलाई स्वास्थ्यको ख्याल गर्न, फोहोर नचलाउन र धूलो र धुवाँ उत्पन्न हुनेखालका निर्माण कार्य नगर्न आग्रह गरेको छ।

प्रदूषणका कारण सावधानी नअपनाएमा मानव स्वास्थ्यमा गम्भीर खालका असरहरू देखापर्ने चेतावनी चिकित्सकहरूले दिएका छन्।