जिल्ला प्रहरी कार्यालय म्याग्दीको कार्ययोजना सार्वजनीक
काेराेला पोस्ट ७ चैत्र २०७७, शनिबार


म्याग्दी, ७ चैत । जिल्लाको शान्ति सुरक्षाको लागि प्रभाकारी बनाउनका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले कार्ययोजना बनाएको छ। जिल्लामा रहेको शान्ति सुरक्षा चुनौतीहरुको समस्याको पहिचान गर्दै आवश्यक रणनीति सहित अघि बढ्न कार्यालयले कार्ययोजना बनाएको हो ।
दुई महिना अघि आउनुभएका प्रहरी नायव उपरिक्षक श्याम कुमार राईले जिल्लाका सरोकारवालाहरुको छलफल तथा अन्तरक्रियापछि आफुले कार्ययोजना निर्माण गरेको जानकारी दिनुभयो । सामुदायिक साझेदारी कार्यक्रम अन्तरगत प्रहरी कार्यालयमा पत्रकार अन्तरक्रिया प्रनाउ राईले उक्त कार्ययोजना सार्वजनिक गरेको हो ।

प्रनाउ राईले आगामी कार्ययोजनामा सरोकारवालाहरु निकायहरुविच समन्वय र सहकार्य गर्ने, मानव अधिकारको संरक्षण सम्वन्धी अनुशिक्षण गर्ने, प्रहरी कार्यालयको भौतिक स्रोत साधनसंगै प्रहरीको सेवा प्रवाह प्रभावकारी बनाउने, आन्तरिक र बाह्य रुपमा सुद्धिकरण अभियान गर्ने, सूचना संकलनमा प्रभावकारी रुपमा जनशक्ति परिचालन गर्ने, शान्ति सुरक्षाको प्रभावकारी सुधार तथा ब्यवस्थापनमा जोड दिने, सामाजमा घट्ने अपराध र अवैध कारोवार रोक्न प्रविधिको प्रयोगमा प्राथमिकता दिने, ट्राफिक पार्किङ, चेकजाँच र बजारमा सिसि टिभिको ब्यवस्थापनमा जोड दिने योजनाहरु सार्वजनिक गर्नुभएको हो ।

उहाँले भावि योजना रुपमा विपद ब्यवस्थापनको तयारी, भौतिक पुर्वाधारको निर्माण र जोखिमयुक्त स्थानहरु पहिचान गरेर सुरक्षाका उपायहरु तयार गर्ने जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि कार्ययोजना कार्यान्वयनमा सरोकारवालाहरुसंग समन्वय गरेर अघि बढ्न आग्रह गर्नुभयो ।