शान्ति कोषको अक्षयकोषमा एक करोड संकलन
काेराेला पोस्ट १८ फाल्गुन २०७७, मंगलबार


म्याग्दी १८ फागुन । गरिव तथा विरामीहरुलाई सहयोग गर्ने उद्देश्यले संचालित ओमकुमारी शान्ति कोषको अक्षकोषमा १ करोड भन्दा बढी संकलन भएको छ । उपचारको क्रममा निधन भएकी ओमकुमारी पुनको स्मृतिमा २०७१ सालबाट सुरु गरिएको शान्ति कोषमा हालसम्म १ करोड १ लाख ६८ हजार रुपैयाँ संकलन भएको संस्थाका सचिव लोकेश पुन मगरले बताए ।

८ सय भन्दा बढी साधारण सदस्य रहेको संस्थाले हालसम्म २ सय ८ जना विरामीलाई उपचारमा आर्थिक सहयोग गरेको छ। जिल्लामा जटिल रोगबाट ग्रसित ५० जना भन्दा बढी विरामीको उपचारमा कोषबाट सहयोग संकलन अभियान संस्थाबाट भएको छ । हालसम्ममा अक्षयकोष बाहेक विरामीको लागि डेढ करोड भन्दा माथि आर्थिक संकलन गरेर सहयोग गरिएको कोषका अध्यक्ष राजेश शाक्यलले बताए । उनले विरामीको उपचारमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुको सहयोगमा धेरै विरामीको ज्यान जोगाउन सफल भएको बताए ।

अक्षयकोषमा दुई करोड पु¥याउने लक्ष अनुसार विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी छ। जिल्लामा जन्मदिन, विवाह बत्तबन्ध तथा अन्य क्षेत्रमा गर्ने खर्च ओमकुमारी शान्ति कोषमा सहयोग गरेर साधारण सदस्य बन्ने चलन जिल्लामा बढेको छ, उनले भने । यो निरन्तर चलिरहन्छ । ओमकुमारी शान्ति कोषलाई सफल बनाउन रोजगारको शिलशिलामा प्रवासीमा रहेका म्याग्देलीहरुको सहयोगी मनले यहाँसम्म संस्था आएको अध्यक्ष शाक्यले भने ।

कोषका अध्यक्ष राजेश शाक्य र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले मृगौलामा समस्या भएका बेनी नगरपालिका २ खवरका धनबहादुर पाठकलाई ओमकुमारी शान्ति कोषको नेतृत्वमा संकलित १ लाख ४४ हजार ७८८ रुपैया रकम उपचारत पाठकलाई हस्तान्तरण गरिएको थियो । त्यस्तै कलेजो प्रत्यारोपन गर्ने धवलागिरी गाउँपालिका–७ धारापानीका खड्कबहादुर थापाको उपचारका लागि संकलन भएको २ लाख ८० हजार ७५० रुपैयाँ रकम विरामीको आफन्तलाई हस्तान्तरण गरिएको थियो ।

गरिवी तथा विरामीको अक्षकोषबाट प्राप्त ब्याजलाई संस्थाको निर्णयअनुसार बेनी नगरपालिका ६ जामुनाखर्कका हातको अप्ररेशन गरेका १३ बर्षिय अनिल विश्वकर्मालाई ११ हजार ५ सय रुपैया, घाटीको क्यासर भएर उपचारत धवलागिरी गाउँपालिका–५ मल्कवाङका ५८ बर्षिय टेकबहादुर छन्त्याललाई १२ हजार, मृगौला फेल भएका धवलागिरी गाउँपालिका–४ मुदीका २३ बर्षका खगेन्द्र हमाललाई ७ हजार, घाटीको क्यान्सर भएका बेनी नगरपालिका –९ काउँलेगौडाका मोमबहादुर थापालाइ १८ हजार रुपैयाँ, जन्मजात नाईटोबाट आन्द्रा बाहिर निस्केका बेनी नगरपालिका–९ का भोविन किसानलाई ७ हजार, मृगौला फेल भएका रघुगंगा गाउँपालिका–४ दग्नामका अजय परियारलाई ७ हजार सहयोग गरिएको थियो ।

कोषका अध्यक्ष शाक्यले उपचारत विरामीलाई अक्षयकोषबाट आएको ब्याजबाट औषधी उपचार र चेकअपका लागि सहयोग गरेको बताए । उनले सहयोग प्राप्त जटिल उपचारका विरामीलाई आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।