राष्ट्रिय युवा संघ नेपालद्धारा बेनीमा बृहत युवा भेला
काेराेला पोस्ट २१ पुस २०७७, मंगलबार


म्याग्दी, २१ पुस । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीद्धारा बेनीमा जिल्लास्तरीय बृहत युवा भेला गरेका छन् । युवाहरुले प्रधानमन्त्री ओलीको समर्थनमा मोटरसाइकल र पदयात्रा ¥याली प्रर्दशन गरेका थिए ।

जिसस सभाहलमा भएको भेलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक अधिकारको प्रयोग गरेर संसद विघटन गरेको बताएका छन् । ओली निकट बस्नेतले बैशाखमा घोषणा गरेको चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

सरकारको लोकप्रिय कार्यक्रम र राष्ट्रियताको पक्षमा लिएको अडानबाट आत्तिएका नेताहरुले आफ्नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि संवैधानिक अधिकार प्रयोग गरेर संसद बिघटन गर्नुपर्ने बाध्यात्मक कदम चाल्नुपरेको बताए । नेकपाका केही नेताहरु पार्टीबाट बाहिरिएका तर्क इंगित गर्दै बस्नेतले नेकपा नफुटेको दावी गरे । सर्वोच्च अदालतले सरकारको कदमलाई साथ दिने र निर्वाचन आयोगबाट आफ्नै समूहले पार्टीको आधिकारिक नाम तथा चुनाव चिन्ह पाउने बस्नेतको दावी छ ।

प्रचण्ड र माधवकुमार नेपालले बहुमतको दम्ब देखाएर सरकार सञ्चालनमा प्रधानमन्त्री ओलीलाई असहयोग र अवरोध गरेको उनको भनाइ थियो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले आफ्नो कार्यकालमा म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत गर्ने, पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्नेदेखि ठूला विकासका आयोजना भित्र्याएको बताए ।

सुरुवात गरेका योजनालाई पूर्णता दिन र राजनीतिक स्थिरता कायम गर्न आगामी चुनावमा ओलीको नेतृत्वलाई जिताउन अर्का केन्द्रीय सदस्य तथा संबिधानसभा सदस्य नवराज शर्माले बताए । भेलामा नेता हरिकृष्ण श्रेष्ठ, दिपक कार्की दिनेश केसी लगायतका युवाहरुले मन्तव्य राखेका थिए ।